अष्ट्रेलियामा बन्दूक आक्रमणमा परी चार जनाको मृत्यु

Posted on: 04 Jun, 2019

जेठ  २१, क्यानवेरा ।अष्ट्रेलियाको उत्तरी क्षेत्रमा एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

स्थानीय समय अनुसार मङ्गलबार साँझ भएको बन्दूक आक्रमणमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्, अष्ट्रेलियाको दैनिक पत्रिका ‘द अष्ट्रेलियन’ले प्रहरीलाई उद्धृत गरी समाचार लेखेको छ । 

नर्दन टेरिटरीको राजधानी डार्विनमा भएको सुटिङको तत्काल कसैले जिम्मेवारी लिएको छैन । प्रहरीले घटनामा आतङ्कवादी समूहको हात रहेको वा नरहेकोबारे अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा ४५ बर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने शहरका विभिन्नस्थानहरूलाई घेरावन्दी गरी अनुसन्धान अघि बढाएको छ । 

प्रहरीले बताए अनुसार साँझ ६ बजे केही राउण्ड गोली चलेको र उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ । तर एक प्रत्यक्षदर्शीका अनुसार स्थानीय एक सानो होटेलमा करिब २० राउण्ड गोली चलेको थियो । रासस/सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!