बालाजु बाइसधारामा आकर्षण बढ्दो

Posted on: 05 Jun, 2019

 कति दिनपछि आज मैले बालाजी देख्याँ

पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ

वरिपरि लहरामा भुलिबस्न्या चरा छन्

मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् । (आदिकवि भानुभक्त आचार्य)

जमुना धमला, जेठ २२, काठमाडौँ । पछिल्लो समय बालाजु बाइसधारा उद्यानमा युवाको आकर्षण बढ्न थालेको छ । काठमाडौँ महानगरपालिका, –१६ स्थित उत्तर –पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा दैनिक तीन सयको हाराहारीमा युवा अवलोकनका लागि आउने गर्छन् । कार्यालय प्रमुख निरञ्जनविक्रम बस्नेतले विशेष पर्व र बिदाको दिन आउने अवलोकनकर्ता अत्यधिक रहेको बताउनुभयो । 

उहाँका अनुसार अव्यवस्थित शहरीकरणको कारण स्वच्छ, सफा र खुला स्थानको अभाव खड्किरहेका अवस्थामा बाइसधारा उद्यानले युवाको मन जित्न सफल भएको छ । उद्यानमा माया साट्न आउने मायालु युवा जोडीको आगमनले थप सौन्दर्य थपेको छ । “यहाँको स्वच्छ, सफा वातावरणले थाकेको मनलाई पनि आनन्दित बनाउने छ ।” माछापोखरीबाट घुम्न आउनुभएका ज्योति तामाङले भन्नुभयो ।  

त्यस्तै नागार्जुनबाट आउनुभएका अनिल थापा उद्यानले युवा पुस्तालाई मनोरञ्जन दिने काम गरेको बताउनुहुन्छ । “यहाँको बगैँचा, हरियाली र नीलकाँडा तथा थरिथरी फूलको सुगन्धले सारा दुःख नै भुल्छु ।” 

बालाजु बाइसधारा उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्रको करीब १६२ रोपनी क्षेत्रफलमा फैलिएको एैतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल हो ।  

विसं २०१८ जेठ २७ गते शिलान्यास भई २०२१ साल जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको सो उद्यान समयअनुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बाइधारा उद्यानका नामले परिचित छ । राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ । राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा सन् १७३६ मा सो क्षेत्र जताततै पानीले जलमग्न भएको कारणले गर्दा पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रुपमा हात्तीको मुखाङ्कित २१ ढुङ्ेधारा निर्माण गरेका थिए । त्यसको केही वर्षपछि राजा रणबहादुर शाहले २१ धाराका बीचमा एउटा अरु ठूलो धारा थपी बाइस धारा पु¥याएका थिए । त्यसपछि सो स्थलको नाम बालाजु बाइसधारा रहन गएको हो । 

धार्मिक उद्देश्यले पनि बालाजु उद्यान त्यत्तिकै महत्वपूर्ण छ । यस उद्यानभित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बूढानीलकण्ठ, शीतलामाई मन्दिर र रत्नचूडेश्वर महादेवको दर्शन गर्न दैनिक सयौँ दर्शनार्थीको घुइँचो लाग्छ ।  चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउनाले गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुनाका साथै शरीरका सारा रोगव्याधि हराउँछन् भन्ने विश्वासका साथ लाखौँ भक्तजन यहाँ मेला भर्न आउँछन् । 

आदिकवि भानुभक्त आचार्य तनहुँदेखि काठमाडोँ आउने क्रममा जब बालाजु देखे तब रमाएर कविता नलेखी बस्नै सकेनन् । विसं २०५१ को भानुजयन्तीको अवसर पारेर यहाँ आदिकवि  आचार्यको शालिक स्थापना गरियो ।  बालाजु उद्यान साहित्यकर्मीका लागि पनि त्यत्ति२कै महत्वपूर्ण तीर्थस्थल हो । त्यसै गरी नेपाली महिलाको महान ्पर्व तीजमा पनि हजारौँ महिला त्यहाँ दर्शनका लागि आउने गर्छन् । विभिन्न धर्मावलम्बीले पुज्ने मन्दिरसँगै बौद्ध गुम्बा पनि रहनाले यहाँका बासिन्दाका बीचमा धार्मिक सद्भाव तथा सहिष्णुता रहेको पाउन सकिन्छ । 

उद्यानभित्र वनभोज, विवाह तथा व्रतबन्धका लागि आउनेहरु पनि त्यत्तिकै छन् । उद्यानमा प्रवेश शुल्क विदेशी नागरिकका लागि प्रतिव्यक्ति रु ७५, नेपाली नागरिकका लागि प्रतिव्यक्ति रु २५ र विद्यार्थीका लागि रु १५ कायम गरिएको छ । उद्यानमा म्युजिक भिडियो छायाङ्कनका लागि रु १० हजार तथा विदेशी चलचित्र छायाङ्कनका लागि रु २० हजार शुल्क निर्धारण गरिएको छ । उद्यान प्रवेशमा बालबालिका, ज्येष्ठ नागरिक र अशक्तका लागि छुटको व्यवस्था छ ।   उक्त उद्यानमा आर्थिक वर्ष २०७४ ÷०७५ मा रु ४७ लाख २७ हजार ५०० सर्वसाधारणबाट, रु ५५ लाख ६ हजार  ५०० विद्यार्थीबाट, रु  ३१ हजार ९५० विदेशी नागरिकबाट शुल्क उठेको कार्यालयले जनाएको छ । आव २०७५ ÷७६ मा पनि अवलोनकर्ता आउने क्रम बढिरहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!