नुवाकोट गोल्ड कपः नुवाकोट–११ विजयी

Posted on: 05 Jun, 2019

जेठ २२, नुवाकोट | आजदेखि शुरु भएको ‘दोस्रो नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिता’मा घरेलु टोली नुवाकोट–११ विजयी भएको छ । बट्टार बहुमुखी क्याम्पसको मैदानमा भएको उक्त खेलमा नुवाकोट–११ ले काठमाडौँको दिपशिखा युवा समूहलाई ५–० गोलले पराजित गरेको हो । 

नुवाकोट–११ का लागि विश्वास श्रेष्ठले ह्याट्रिक गरेका थिए । उनले खेलको १०औँ र ३४औँ मिनेट तथा मध्यान्तरपछि गोल गरेका थिए ।

यस्तै नुवाकोट–११ का लागि ३८औँ मिनेटमा प्याट्रिक तथा मध्यान्तरपछि दिनेश राजवंशीले गोल गरेका थिए । नुवाकोट–११ का विश्वास श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले रु १० पुरस्कार प्राप्त गरे । 

जिल्ला खेलकूद विकास समिति नुवाकोट र नुवाकोट फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा नुवाकोट–११ सहित विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाएका छन् । 

यस्तै मनाङ, सङ्कटा, च्यासल युथ क्लब, चितवन–११, विजय युथ हेटौँडा र काठमाडौँको दिपशिखा युवा समूह सहभागी छन् । प्रतियोगिताको विजेताले रु छ लाख तथा उप–विजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता यही जेठ ३१ गतेसम्म सञ्चालन हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!