डडेल्धुराकि जयन्तीदेवीले पाइन् सत्तरी वर्षमा नागरिकता

Posted on: 05 Jun, 2019

जेठ २२, डडेल्धुरा | डडेल्धुरा परशुराम नगरपालिकाको दुर्गम बस्ती बसौटीमा बस्ने एक वृद्ध महिलाले ७० वर्षको उमेरमा नागरिकता बनाउनुभएको छ । 

विसं २००६ मा जन्मिनुभएकी जयन्तीदेवी बोहोरालाई नगरप्रमुख भीमबहादुर साउदले नागरिकता हस्तान्तरण गर्नुभएको हो । हालै बढेको वृद्धभत्ताले गुजारा चलाउन सहज हुने भन्दै ७० वर्षको उमेरमा वृद्धभत्ता र अन्य प्रयोजनका लागि नागरिकता बनाएको बोहोराको भनाइ थियो ।

मुलुक सङ्घीय संरचनामा आएको सन्दर्भमा नागरिकलाई घरदैलोमा सेवा प्रदान गर्नका लागि सञ्चालित शिविरले सो क्षेत्रका जनतालाई निकै सहज भएको नगर प्रमुख साउदको भनाइ छ । 

डडेल्धुराको परशुराम नगरपालिका–२ बसौटीमा आयोजित एक दिने एकीकृत शिविरबाट स्थानीय ७० वर्षीया जेष्ठ महिला बोहराले नागरिकता पाउनुभएको हो । नगरपालिकाबाट बसौटी ५–६ घण्टा पैदलयात्राको दूरीमा रहेको छ । 

बोहोराले पहिलो पटक घुम्ती शिविरबाट आफ्नो पहिचानका लागि नागरिकता लिएको इलाका प्रशासन कार्यालय जोगबुडाका इलाका प्रशासक दत्तुराम पाण्डेयले बताउनुभयो ।

नागरिकता बनाउने चाहना भए पनि दुर्गम गाउँको बसाइँ र गरीब अवस्थाका कारण हालसम्म नागरिकता बनाउने धोको आज पूरा भएको भन्दै बोहोराले बढेको भत्तासमेत पाउने भएकोले खुशी लागेको सुनाउनुभयो । 

दुर्गम क्षेत्र बासिन्दालाई घरदैलोमै सेवा प्रदान गर्न सञ्चालित शिविरमा २४६ जनाले विभिन्न सेवा लिएका थिए । सो क्षेत्रमा गएको टोलीले ७० वर्षीया वृद्धा महिलासहित ४६ जनालाई नागरिकता प्रदान गरेको छ । 

पशु शाखाबाट भने ३० जना नागरिकले विभिन्न औषधि सम्बन्धी सेवा लिएको पशु शाखा प्रमुख रतन भण्डारीले जानकारी दिनुभयो । दुर्गम क्षेत्रका नागरिकले घरदैलोमै एकीकृत सेवा लिन पाउदा स्थानीयवासी हर्षित भएको स्थानीय आयोजक वडा नं– २ का वडाध्यक्ष गगनसिंह साउदले बताउनुभयो ।

मङ्गलबार सञ्चालित शिविरमा परशुराम नगरपालिकाका कृषि, पशुसेवा, जोगबुडा अस्पताल र इलाका प्रशासन कार्यालय जोगबुडाले विषयगत सेवा प्रदान गरेको आयोजक परशुराम नगरपालिकाले जनाएको छ । 

शिविरमा कृषि शाखाबाट एक सय नागरिकलाई काँक्रा, लौका र सिमीलगायतका विभिन्न बिउबिजन र विषादी वितरण गरिएको शाखा प्रमुख कालुसिंह बोहोराले जानकारी दिनुभयो । यस्तै जोगबुडा अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले ७० जनालाई सामान्य, स्त्री रोग, दन्त सेवासम्बन्धी जाँच र निःशुल्क औषधि वितरण नगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक हिक्मतसिंह धामीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!