जनचासोका विषयमा कलम चलाउनुहोस् : मन्त्री बाँस्कोटा

Posted on: 07 Jun, 2019

 जेठ २४, तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा  जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

 उहाँले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै भन्नुभयो,  “राससमा आउने समाचार अन्य सञ्चारमाध्यमभन्दा फरक हुनुपर्छ, खोजीमूलक समाचारमा तपाईँहरुले जोड दिनुहोस् ।”

सो अवसरमा रासस दाङका प्रमुख नारायणी रजौरेले कार्यालयमा पत्रकारलाई सहजताका लागि सूचना केन्द्र सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक सहयोग मागिएको जानकारी दिनुभयो । 

बेपत्ता भएको ७० वर्षपछि काजकिरिया

दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उहाँकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरु गर्नुभएको छ । 

बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उहाँले बताउनुभयो । “बुबा ३० वर्षको हुँदा घरबाट हराउनुभएको हो, त्यतिबेला म तीन वर्षको थिएँ रे, अहिले म ७३ वर्ष भइसकेँ”, उहाँले भन्नुभयो, “बुबा हराएको ७० वर्ष भइसक्यो, अहिलेसम्म नफर्केकाले काजकिरिया गर्न लागेका हौँ ।” 

पुरोहितसँग सल्लाह गरेर यही जेठ २१ गतेदेखि किरिया गर्न शुरु गरेको र यही जेठ ३२ गतेसम्म किरिया गर्ने उहाँले बताउनुभयो । बुबाको अहिले उमेर १०३ वर्ष पुगिसकेको र अहिलेसम्म जीवित भएको कुनै थाहा नभएपछि पुरोहितसँग सल्लाह गरेर यसरी काजकिरिया गर्न थालेको उहाँले जानकारी दिनुभयो । पितृ रिसाउने र कूल बिग्रने धार्मिक मान्यता र संस्कार रहेकाले हिन्दू संस्कारअनुसार काजकिरिया गरिरहेको उहाँले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!