माडीमा चक्लाबन्दी खेती शुरु

Posted on: 07 Jun, 2019

जेठ २४, हेटौँडा । जिल्लाको माडीमा चक्लाबन्दी खेती शुरु गरिएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा माडी नगरपालिका–८ कान्तिपुरमा रहेको सूर्याेदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती शुरु गरेको हो । 

संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार ६८ जना कृषकको १२० बिगाहा जमीनमा चक्लाबन्दी खेती शुरु गरिएको छ । कृषकलाई वार्षिक रुपमा एक कट्ठा जग्गाको एक मुरी धान दिने गरी १५ वर्षका लागि भाडामा लिएर सो खेती शुरु गरिएको हो । पौडेलले आम्दानीपछि बचत भएको रकमसमेत उनीहरुलाई पनि शेयर सदस्य बनाएर वितरण गरिने जानकारी दिनुभयो । 

चक्लाबन्दी खेतीका लागि जमीन मिलाएर धानको बीउ राख्न शुरु गरिएको छ । पौडेलले आज दुई क्विन्टल राधा ४ जातको धानको बीउ राखिएको बताउनुभयो । सहकारीले बीउ राख्नका लागि राधा ४ र सावित्रीको १०/१० क्विण्टल खरीद गरिसकेको छ । केही दिनभित्र बीउ राखिसक्ने जनाइएको छ । 

धान लगाइने जमीनमा यसपछि गहुँ र मकै लगाइँदैछ । सोही क्षेत्रमा चार कट्ठा दश धुर जमीनमा तरकारी खेतीका लागि ग्रिन हाउस निर्माण गरिँदैछ । 

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठका अनुसार यस प्रदेशको चितवनको माडी र सिन्धुलीको दुधौलीमा चक्लाबन्दी खेती शुरु गरिएको हो । प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जमीन चक्लाबन्दी गर्न रु २५ लाख, विभिन्न कृषि औजार खरीद गर्न रु ६५ लाख, सहकारी खेती शीर्षकमा रु ६ लाख अनुदान दिने श्रेष्ठले जानकारी दिनुभयो । यससँगै ग्रिन हाउस निर्माणका लागि कन्दमूल तरकारी विकास केन्द्र सिन्धुलीले रु २५ लाख उपलब्ध गराउने श्रेष्ठले बताउनुभयो । 

चक्लाबन्दी खेती गर्दा मेशिनरी उपकरण प्रयोग गरेर ठूला गरामा आधुनिक खेती गरिन्छ । जसले लागत मूल्य घटाउने श्रेष्ठको भनाइ छ । सो क्षेत्रमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले दुई पटक पुगेर कृषकलाई उत्साहसमेत थप्नुभएको स्थानीयवासीले जनाएका छन् । कृषकलाई गोलबन्द गर्दै सहकारीलाई विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ । 

केही महीनाअघि ३० जना सदस्यबाट दर्ता भएको सहकारीमा जग्गाधनीलाई समेत सदस्य बनाइनेछ । माडी नगरपालिका–८ का अध्यक्ष कृष्णराज अधिकारीले कृषकका जमीनलाई चक्लाबन्दी गरी खेती गर्दा कम खर्चमा धेरै उत्पादन गर्न सकिने बताउनुभयो । 

माडी नगरपालिकाले समेत तरकारी खेतीका लागि रु पाँच लाख दिने आश्वासन दिएको संस्थाका अध्यक्ष पौडेलले बताउनुभयो । नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले प्रदेश सरकारको यस कार्यक्रममा आवश्यक सहयोग नगरपालिकाबाट हुने बताउनुभयो । माडी नगरपालिका उर्वर ठाउँ भएकाले चक्लाबन्दी खेती शुरु भएसँगै यसले अन्य कृषकलाई पनि ज्ञान र सीप आदानप्रदानमा सहयोग पुग्ने ढकालको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!