उपत्यकामा सवारी दुर्घटनामा २२२ को मृत्यु

Posted on: 07 Jun, 2019


जेठ २४ ,काठमाडौँ |काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण २२२ जनाको मृत्यु भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको हालसम्ममा २२२ जनाको मृत्यु भएको हो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २११ र जेठ महीनामा मात्र ११ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १७७ पुरुष र ४५ महिला रहेका छन् । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गति र चालकको लापरवाहीका सवारी दुर्घटनामा धेरै मानिसको ज्यान जाने गरको बताउनुभयो । “फराकिलो बाटो र तीव्र गतिका कारण धेरै मानिसको सवारी दुर्घटनामा ज्यान गएको छ,”–उहाँले भन्नुभयो । 

सवारी दुर्घटनामा ज्यान गएकामध्ये अधिकांश मोटरसाइकलमा सवार रहेको महाशाखाले जनाएको छ । चालू आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटर ९९, पैदलयात्रु ७१, कार १६, ट्रक १६, बस आठ, साइकल चार र एउटा माइक्रो दुर्घटनामा परेका छन् । 

उपत्यकामा आर्थिक वर्ष २०७४-७५ मा १९४ र आर्थिक वर्ष २०७३-७४ मा १८२ जनाको सवारी दुर्घटनामा परी ज्यान गुमेको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौँ उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!