चितवनमा ९० किलो गाँजा बरामद

Posted on: 10 Jun, 2019


 २७  जेठ ,मुग्लिन|(रासस) : चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो ।  

विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको  प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको निरीक्षक अचार्यले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ । गएको वैैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ३५० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।  

यसअघि राप्ती नगरपालिका–२ हुमपुङ भन्ने स्थानबाट पानी ट्याङ्कीभित्र लुकाइछिपाइ राखेको अवस्थामा गाँजा भेटिएको थियो । प्रहरीको सक्रियता बढेपछि तस्कर गर्न नसकेपछि गाँजा त्यसै छोडेर जाने गरेको निरीक्षक आचार्यले  बताउनुभयो । 

आचार्यका अनुसार धादिङ र मकवानपुरको सिमाना पर्ने विकट बस्तीमा लुकीछिपी गाँजा खेती तथा तस्कर बढी हुन्छन् । विकट बस्तीका कारण प्रहरीको पहुँच कम हुने यस ठाउँमा तस्करले गाँजाखेती गर्न लगाउने गरेको निरीक्षक आचार्यको भनाइ छ । प्रहरीले गाँजा फँडानी गर्ने र लुकाइछिपाइ राखेकोलाई खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । पछिल्लो समय स्थानीयले पनि खबर गरी प्रहरीलाई जानकारी दिने गरेका कारण अभियान सार्थक बन्दै गएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!