भरतपुर अस्पतालमा ३२ जोर्नी प्रत्यारोपण

Posted on: 10 Jun, 2019

जेठ २७, चितवन । भरतपुर अस्पतालमा ३२ वटा जोर्नी प्रत्यारोपण गरिएको छ । घुँडाको १८ वटा र पुठोका १४ वटा प्रत्यारोपण गरिएको हो । दुई वर्ष छ महीनाअघिदेखि अस्पतालमा जोर्नी प्रत्यारोपण शुरु गरिएको हो । 

दिल्लीको एपोलो अस्पतालमा तीन महीनाको तालीम लिनुभएका भरतपुर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा श्रवणकुमार थापाको नेतृत्वमा प्रत्यारोपणको काम भइरहेको छ । उहाँका अनुसार वृद्धावस्थामा खिइएर, बाथ, चोटपटक, हड्डीको क्षयरोगलगायतका कारण जोर्नीले काम नगरेपछि प्रत्यारोपण गर्ने गरिएको छ । 

निजी अस्पतालमा महङ्गो हुने भए पनि सरकारी अस्पतालमा कम मूल्यमा प्रत्यारोपणको काम हुने गरेको छ । शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने काम महङ्गो नभए पनि परिवर्तन गर्ने जोर्नी महङ्गो हुने हुँदा खर्चिलो हुने गरेको हो । थापाका अनुसार घुँडा प्रत्यारोपण गर्दा रु दुई लाख २० हजार र पुठोको रु एक लाख २० हजार हाराहारी जोर्नी खरीद गर्न खर्च लाग्ने गर्दछ । 

घुँडाको अमेरीकाबाट र पुठोको भारतीय कम्पनीका सामग्री यहाँ बढी प्रयोग हुने गरेको जनाइएको छ । शल्यक्रिया गरी प्रत्यारोपण र औषधि लगायतमा रु ४० हजार हाराहारी खर्च हुने गर्दछ । उहाँका अनुसार राजधानी बाहिर सरकारी अस्पतालमा यही मात्र प्रत्यारोपण हुने गरेको छ । प्रत्यारोपणका लागि अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष चाहिने गर्दछ । 

उहाँले अस्पतालमा रहेको शल्यक्रिया कक्षलाई जिवाणुरहित बनाएर प्रत्यारोपण गर्ने गरेको जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले निजीमा भन्दा कम खर्चमा सरकारी अस्पतालमा जोर्नी प्रत्यारोपण गर्न सकिने बताउनुभयो । निजीमा यहाँको भन्दा रु एक लाखभन्दा बढी खर्च लाग्ने उहाँको भनाइ छ ।  

अस्पतालमा तालीम प्राप्त विज्ञ चिकित्सक रहेकाले प्रत्यारोपण गराउनेको रोजाइ सरकारी अस्पताल हुने गरेको बगालेले बताउनुभयो । महङ्गो खर्च लाग्ने, बीमा नहुने, सरकारी छुट नपाइने र प्रत्यारोपणको जनचेतना नहुँदा सोचेअनुसारका बिरामी नआएका अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । घुँडा प्रत्यारोपण गर्ने अधिकांश ज्येष्ठ नागरिक हुने गरेका छन् ।

होटल तथा रेष्टुरेन्टमा अनुगमन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले आज नारायणगढको लायन्स चोक क्षेत्रमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको छ । अनुगमनको क्रममा रेष्टुरेन्टहरुले मापदण्ड विपरीत खानामा रङको प्रयोग गरेको पाइएको छ । खाद्य निरीक्षक प्रदीप काफ्लेका अनुसार श्रेष्ठ तन्दुरी रेष्टुरेष्ट एण्ड थकाली भान्साघर, मुगल किचन, ग्राउण्ड जिरो, मामाघर रेष्टुरेन्टमा अत्यधिक रङको प्रयोग गरेको पाइएको हो । यस्तै अनुगमन भएका होटलहरुमा भान्साको व्यवस्थापनमा निकै कमजोरी देखिएको खाद्य निरीक्षक काप्mलेले जानकारी दिनुभयो ।

लायन्स चोकमा रहेको ट्रेन्स मःम कर्नर, एभरेष्ट मःम रेष्टुरेष्ट, मुगल किचन, मामाघर रेष्टुरेन्ट, मान्द्रो किचन र श्रेष्ठ तन्दुरीको भान्छामा काम गर्ने व्यक्तिलाई पोशाकको व्यवस्था गर्न निर्देशन दिइएको छ । 

अनुगमन टोलीले अनुगमन गरेको रेष्टुरेन्टबाट धेरै दिनदेखि फ्रिजमा राखिएको खाने वस्तुहरु नष्टसमेत गरिएको काफ्लेले बताउनुभयो । निरीक्षण भएका सबै होटल तथा रेष्टुरेन्टका सञ्चालकसहित मुख्य भान्सेलाई दुई दिनभित्र खाद्य निरीक्षण कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!