भक्तपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

Posted on: 11 Jun, 2019

जेठ २८, भादगाउँ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक सुनखानी गाउँपालिका–५ का अम्मरबहादुर पराजुलीको निर्माण गर्न लागेको घरको जग खन्ने क्रममा माटोको ढिस्को पल्टिएर पुरिँदा सिन्धुपाल्चोक घरभई हाल पुरानो थिमि बस्ने ३५ वर्षीया रोजनी खड्काको मृत्यु भएको हो ।

घटना लगत्तै उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा खड्काको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । सो घटनामा घाइते भएका सिन्धुपाल्चोक सुनखानी–५ घरभई हाल कुण्डोलमा बस्ने ३८ वर्षीय दावा तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । 

केसीलाई रु एक लाखसहित सम्मान

भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो हुन सफल कक्षा ८ मा अध्ययनरत् विद्यार्थी आयुष केसीलाई रु एक लाखसहित सम्मान गरिएको छ ।

 सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोर्डन स्कूलले आज आयोजना गरेको सम्मान कार्यक्रममा स्कूलका प्रमुख बाबुकाजी कसपाल, प्राचार्य अनिल कसपालले रु एक लाखसहित सम्मान गर्नुभयो । 

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा भाग लिएका केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए भने आचार्य तेस्रो र केसीले चौँथो स्थानमा आउन सफल भएका थिए । मोर्डन स्कूलमा कक्षा ८ मा अध्ययनरत् गायक केसीले कार्यक्रममा नेपाली तथा हिन्दी गीत गाएका थिए भने उनले नृत्य गरेरसमेत आफ्नो क्षमता प्रस्तुत गरेका थिए । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नेपालबाट भारतको रियालिटी शोमा भाग लिएर केसी र आचार्यले देशको नाम उच्च राख्न सफल भएको भन्दै प्रशंसा गर्नुभएको थियो । 

त्यसअवसरमा जिल्ला शिक्षा एकाईका प्रमुख खेमनाथ पोखरेल, प्राचार्य कसपाल, सूनपा–४ का वडाअध्यक्ष उत्तम थापालगायतले नेपाली प्रतिभाको बारेमा चर्चा गर्दै राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!