हाइड्रोपावरले ड्याम खोल्दा दाङ घर भएकी एक युवती बेपत्ता

Posted on: 13 Jun, 2019

जेठ ३०, धादिङ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । 

लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् । आँखु खोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलामा रहेकी युवतीलाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानाकारी दिनुभयो । 


जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताउनुभयो । पाँच सय बढी कामदार लगाएर गणेशस्थान र खहरे नजिकै स्थानीयवासीले वारिपारि गर्न बनाएको काठेपुल पनि आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासीलाई समस्या पर्ने उहाँले बताउनुभयो । बेपत्ता युवतीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । 

आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताउनुभएको छ । रासस 

तश्विर साभार: फेसबुकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!