शिक्षिका नै जाँदैनन् महिनावारी हुदाँ विद्यालय

Posted on: 13 Jun, 2019

जेठ ३०, बाजुरा |  जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएको छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो । 
ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको समय-समयमा विरोध गरेपनि स्वयम् शिक्षिकाहरुले नै यो कुरालाई नमानेको पाइएको छ । स्थापनाकालदेखि नै यो प्रथा चलिआएकाले विद्यार्थीहरु यसबाट प्रत्यक्ष मारमा परेको प्रधानाध्यापक प्रकाश ऐडीले जानकारी दिनुभयो । 
कहिलेकाहीँ आफू तालीम, गोष्ठीलगायतका काममा गएको समयमा दुवै जना शिक्षिका कहिलेकाहीँ एकै पटक महिनावारी हुँदा विद्यालयको पढाइ नै ठप्प रहनेगरेको प्रधानाध्यापक ऐडीको भनाइ छ । 
आफूले यो प्रथा गलत रहेको भन्दै महिनावारी भएको समयमा शिक्षिकाहरुलाई विद्यालयले बिदा नदिने निर्णय गरेको भए पनि शिक्षिकाहरुले नै नमान्ने गरेको विद्यालयको भनाइ छ । एक पुरुष र दुई महिला शिक्षक रहेको यो विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ३ सम्म पढाइ भइरहेको छ ।
हाल १८ जनाको सङ्ख्यामा विद्यार्थीहरु अध्ययन गरिरहेका छ्न् । शिक्षिका किन स्कुल आउनु भएन भनेर विद्यार्थीलाई सोध्दा छाउ (महिनावारी) भएर नआएको कक्षा ३ मा अध्ययनरत् छात्र अर्जुन ऐडीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!