स्वाथ्यचौकीमा ३६ प्रकारका औषधि सहयोग

Posted on: 13 Jun, 2019

 जेठ ३०, हुम्ला । सधैँ औषधि अभाव हुने हिमाली जिल्ला हुम्लाको ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च (सिएफडी) नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम संयोजक शौरभ लामाले जानकारी दिनुभयो । 

वडा २ मा रहेको ठेहे स्वास्थ्य चौकीमा साविक वडा १ देखि ६ सम्मका करीब पाँच सय घरधुरीले उपचार गर्ने भएकाले औषधि सहयोग गरेको जिल्ला संयोजक लामाले जानकारी दिनुभयो । सदरमुकाम सिमकोटबाट सात कोष टाढा पर्ने ठेहे स्वास्थ्य चौकीमा औषधि अभावका कारण बिरामीलाई समस्या हुन नदिनका लागि औषधि सहयोग गरिएको मञ्च नेपालका जिल्ला कार्यक्रम संयोजक लामाले बताउनुभयो । 

३६ प्रकारका औषधि ठेहे स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा सदस्य बाँचपुरी भण्डारी, ठेहे स्वास्थ्य चौकी इञ्चार्ज रमेशकुमार सापकोटालाई विकासका लागि साझा मञ्च नेपालका जिल्ला संयोजक शौरभ लामाले हस्तान्तरण गर्नुभयो । 

विकासका लागि साझा मञ्च नेपाल नामक संस्थाले साविक सिमकोट, ठेहे, डाडाफयाँ, खार्पुनाथ गाविसमा स्वास्थ्य, शिक्षा, कृषि, पशु क्षेत्रमा २०६५ सालदेखि काम गर्दै आएको लामाले जानकारी दिनुभयो । औषधि खरीददेखि सिमकोट ल्याउन भाडादर गरेर पाँच लाख बराबरको औषधि हस्तान्तरण गरिएको हो । 

गाउँघरमा यतिबेला सामान्य रुघाखोकीदेखि पखालाका बिरामीहरु हुने सिजन भएकाले ठेहे स्वास्थ्य चौकीमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य चौकीप्रमुख रमेशकुमार सापकोटाले जानकारी दिनुभयो । गाउँघरमा उनीहरूको उपचारमा निरन्तर औषधि आवश्यक हुन्छ । सिएचडी नामक संस्थाले ठेहे स्वास्थ्य चौकीमा ३६ प्रकारका औषधि सहयोग गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!