चितवनमा द फर्न रेजिडेन्सी होटल

Posted on: 15 Jun, 2019

जेठ ३२, चितवन । चौधरी समूह (सिजी)ले भरतपुरमा निर्माण गरेको ल्याण्डमार्क कम्प्लेक्समा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको छ । ‘सिजी हस्पिटालिटी’ अन्तर्गत द फर्न रेजिडेन्सीको नामबाट चेन होटल सञ्चालनमा ल्याइएको शुक्रबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । चार तारेसरहको सुविधा दिने गरी यसै महीनाबाट होटलले सेवा दिन शुरु गरेको छ । 

नेपाल भित्रने पर्यटकका लागि चितवन तेस्रो गन्तव्य हो । यस क्षेत्रमा जङ्गल सफारी र व्यावसायिक प्रयोजनको लागि घुमघाम गर्न आउने पर्यटकलाई लक्षित गर्दै सिजीले यो होटल सञ्चालनमा ल्याएको जनाएको छ ।

होटलका महाप्रबन्धक सुरज थापाका अनुसार बहुतले भवनको पाँचौँ तल्लादेखि दशौँ तल्लासम्म ४८ कोठा रहेका छन् । सबै कोठाबाट भरतपुरको मनोरम दृश्यावलोकन गर्न सकिनेछ । छैटौँ तल्लामा पौडी पोखरी, अपाङ्गमैत्री कोठा र दुई वटा १५० जना अट्ने सभा कक्ष रहेका छन् । 

होटलले प्रयोगमा आएका पानी र ठोस पदार्थलाई प्रशोधन गरी पुनः प्रयोगमा ल्याएको छ । यो समूहले ‘द फर्न रेजिडेन्सी’ ब्राण्डमा यसअघि काठमाडौँको सोल्टीमोडमा व्यावसायिक होटल सञ्चालनमा ल्याइसकेको छ । जिल्लाको मेघौलीमा पनि चौधरी समूहको होटल ताज रहेको छ । चेन होटल द फर्न रेजिडेन्सी नेपाल भारत र युरोपमा गरी ६३ वटा छ । भवनमा सपिङ कम्प्लेक्स, फुडकोर्ट, सिनेमा घर, रिक्रिएशन सेन्टर, बैंक, ट्राभल एजेन्सीसहितको सुविधा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!