चितवनबाट वीरजञ्जतर्फ जाँदै गरेको बस दुर्घटना, एकको मृत्यु, २० जना घाइते

Posted on: 17 Jun, 2019

असार २ हेटौँडा । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ । 

मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बसबाट हामफाल्दा युवतीको मृत्यु, दुई मृत फेला

चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् ।

उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई पुरुष मृतावस्थामा फेला

चितवनका छुट्टाछुट्टै स्थानमा आइतबार दुई पुरुष मृत फेला परेका छन् । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेका हुन् । भरतपुर–३ बेलचोक घर भई मागेर खाँदै हिड्ने तिवारीको अपराह्न ५ः३५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यस्तै आइतबार अपराह्न कालिका नगरपालिका–८ न्यूरेनीमा अन्दाजी ३०÷३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन् । उनी सडक छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । चेपाङको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!