धापासीको नेचर क्लबमा रहेको स्वीमिङ पुलमा डुबेर एकको मृत्यु, परिचय खुलेन

Posted on: 17 Jun, 2019

असार २, काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भईसकेको छैन ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार नेचर क्लबमा रहेको स्वीमिङ पुलमा डुबेर आइतबार अपरान्ह ४ बजे गम्भीर घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । महाराजगंज प्रहरीले घटनापछि उक्त व्यक्तिको मृत्यु भएपछि मात्र खबर पाएको जनाएको छ । 

प्रहरीले अहिले मृतकको परिचय पत्ता लगाउनका लागि विभिन्न प्रहरी युनिटमा हुलिया परिपत्र गरेको छ । उक्त व्यक्ति चप्पल लगाएर आएको कारण नजिकैको हुन सक्ने अनुमान लगाइएको छ । प्रहरीका अनुसार कोहि हराएको भन्ने खबर समेत नआएको कारण पनि उनको परिचय खुल्न सकेको छैन ।

मृतकको सनाखत भएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । मृत्युको कारण पनि त्यसपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!