दैलेख जीप दुर्घटना : हेलिकप्टरबाट घाइतेको उद्धार

Posted on: 17 Jun, 2019

असार २, दुल्लु  । ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा आज बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ठाटीकाँधतर्फ जाँदै गरेको भे१च २०९० नंको जीप दुर्घटना हुँदा १० जना घाइते भएका थिए । घाइतेमध्ये ठाटीकाँध गाउँपालिका–४ का जीप साहु ३० वर्षीय लोकेन्द्रबहादुर शाही, सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही, ४२ वर्षीय सुरत शाही र जीप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

देशभरका पालिकाको केन्द्रसम्मको सडक कालोपत्र गरिने

देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले अध्ययन शुरु गरेको हो । 

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पालिका केन्द्रसम्म कालोपत्र गर्न रु पाँच अर्ब छुट्याइएको विभागले जनाएको छ । देशभरका ७५३ पालिकामध्ये ३६९ पालिकाको केन्द्रसम्मको सडक कालोपत्र नभएको पाइएको छ । सातै वटा प्रदेशले त्यहाँ रहेका स्थानीय तहसम्मको सडक कालोपत्र गर्ने विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार प्रदेश सरकार र सङ्घीय सरकारको लागत सहभागितामा योजना सञ्चालन गर्ने लक्ष्य रहेको छ । उहाँले भन्नुभयो, “अहिले हामीले योजना कसरी अघि बढाउने भनेरै प्रदेश सरकारसँग छलफल गरिरहेका छौँ ।”

योजनाअन्तर्गत देशभरमा गरेर चार हजार २०० किलोमिटर सडक कालोपत्र हुने महानिर्देशक श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले आगामी आव २०७६÷७७ मा छुट्याएको बजेट योजना सम्पन्न गर्न चाहिने जम्मा बजेटको तुलनामा न्यून रहेको छ । उहाँले भन्नुभयो, “यस सडकमा सहयोग गर्न चाहने वैदेशिक दाताको पनि खोजी गरिनेछ ।” योजना सम्पन्न गर्न झण्डै रु दुई खर्ब लाग्ने अनुमान गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!