बझाङ : जीप दुर्घटनामा नौ जनाको मृत्यु, मृतक सबैको सनाखत

Posted on: 17 Jun, 2019

असार २, बझाङ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । 

तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उहाँले बताउनुभयो । अहिलेसम्म नौ जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनामा मृत्यु भएकाको सनाखत भइरहेको प्रहरीले जनाएको छ । 

जीप दुर्घटना : मृतक सबैको सनाखत

 जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उहाँका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिनुभयो ।  

घटनास्थलमा खटिनुभएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ । मौसम खराब रहेका कारण हेलिकोप्टर उड्न नसकेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!