गुठी विधेयकको विरोधमा पशुपति क्षेत्रमा प्रदर्शन

Posted on: 18 Jun, 2019

असार ३, काठमाडौँ  | श्री पशुपतिनाथ ग्वल पुचः समाजले गुठी विधेयकको विरोधमा पशुपतिनाथ मन्दिरबाट सांस्कृतिक झाँकी र बाजागाजासहित प्रदर्शन गरेको छ । 

 विहान पशुपतिनाथ मन्दिरबाट शुरु भएको झाँकीसहितको प्रदर्शन जयबागेश्वरी–सिफल–लामपोखरी–चाबहिल गणेशस्थान–चाबहिल चोक–मित्रपार्क–जयबागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको दक्षिणढोका अघिको भण्डारी गुठी घर आई सभामा परिणत भएको थियो । प्रदर्शनमा सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका वडा नं ७ र ८ का निर्वाचित जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।

 सहभागीले नेपालको मौलिक जीवन्त सांस्कृतिक जात्रा पर्व मास्न पाइँदैन, गुठी विधेयकका नाममा धर्म संस्कृति नाशिन दिँदैनौँ, गुठी विधेयक फिर्ता गर लगायत नारा लगाएका थिए । सांसद थापा, प्रदेशसभा सदस्य वैद्यलगायतले गुठी विधेयकका नाममा मौलिक सम्पदामाथि आक्रमण हुन लागेकाले फिर्ता लिनुपर्नेमा जोड दिनुभएको थियो । 

 पशुपति क्षेत्रमा अमालकोट कचहरी कार्यालय, जयबागेश्वरी भण्डार तहविल कार्यालय, पशुपति भण्डार तहविल कार्यालय नामका पशुपतिसँग सम्बन्धित गुठी छन् । यस अलावा निजीस्तरबाट खुलेका जात्रा पर्व एवं संस्कारसम्बन्धी सयौँ गुठी रहेको पुचः समाजका अध्यक्ष केदारमान भण्डारीले बताउनुभयो । 

 पशुपतिका नाममा रहेका तीनै वटा गुठी विसं २०५५ देखि पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालनमा रहेको छ । त्यसअघि तीनवटै कार्यालय बेग्लाबेग्लै सञ्चालन हुने गरेको अमालकोट कचहरी कार्यालयका गणेश श्रेष्ठले बताउनुभयो । पशुपतिका तीनै गुठी छुट्टै सञ्चालन हुँदा यसको रेखदेख मूलभट्टले गर्ने परम्परा थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!