बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै

Posted on: 19 Jun, 2019

असार ४, हुम्ला | हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ ।

मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार यात्रुको कुनै पत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा कुरिनटारबाट गोताखोर ल्याउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । 

जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको उद्धार कार्यले परिणाम निकाल्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । आज बिहानै देखि दुर्घटनास्थलमा उद्धार टोली खटिएका छन् ।

सिकारुले जीप चलाएका कारण याङचुमा जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएको लु १ ज ७१६६ नम्बरको जीप चालकले नचलाएर सिकारुले चलाएका कारण नदीमा खसेको बताइएको छ । खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही सहित अन्दाजी १६ जना सवार गाडीलाई भर्खरका सिकारुले चलाएका कारण गाडी कर्णाली नदीमा खसेको प्रत्यक्षदर्शी स्थानीय तुल्या कामीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!