महोत्तरीमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु

Posted on: 24 Jun, 2019

असार ९, महोत्तरी । महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो । 

गाडीको ठक्करबाट निजको मृत्यु भए तापनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । टाउकोमा गम्भीररुपमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक किशोर अचार्यले बताउनुभयो । 

शव परीक्षणको लागि जलेश्वर पठाउने तयारी भइरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिनुभयो । 

जिल्ला अस्पताल सञ्चालन

बालिकाको मृत्युपछि आइतबार दिनभरि बन्द रहेको महोत्तरीको जिल्ला अस्पताल आज बिहानैदेखि सञ्चालन भएको छ । जलेश्वर नगरपालिका–३ खैरा गाउँ बस्ने प्रमोद यादवकी छोरी चार वर्षीया शिवानी यादवको डाक्टरले उपचार नगरिदिँदा मृत्यु भएको भन्दै उनको परिवारजन र स्थानीयको एक समूहले बालिकाको शव जिल्ला अस्पतालको मूलढोका अगाडि राखेर अस्पतालमा तालाबन्दी गरेपछि आइतबार दिनभरि सो अस्पताल बन्द रहेको थियो । 

मृतक बालिकाका परिवारजन तथा युवाको समूहले अस्पतालको ओपिडी, स्वास्थ्य कार्यालय, स्वास्थ्य कार्यालय प्रमुख डा राजीव झाको क्वार्टर र बालिकालाई उपचारको लागि ल्याइएको बेला ड्युटीमा रहेको तर अस्पतालमा उपचारको लागि नआएका डा केशर चौधरीको क्वार्टरमा तालाबन्दी गरी दिएका थिए । तर अस्पतालको आकस्मिक कक्ष भने सञ्चालनमा नै रहेको थियो । 

आइतबार बिहान ४ बजेतिर अत्यधिक झाडाबान्ता लागेर उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएकोमा ड्युटी भएका डाक्टर केशर चौधरी तथा स्वास्थ्य कार्यालय प्रमुख डा राजीव झासमेत नआइदिएको र उपचारमा रहेका जुनियरले बालिकालाई उपचारै नगरी जनकपुर रेफर गरिदिएपछि बालिकाको बाटैमा मृत्यु भएपछि आक्रोशित परिवारजनले बालिकाको शव अस्पतालमा राखेर  बन्द गराएका थिए ।  

तालाबन्दीका कारण अस्पतालका ओपिडी सेवा, ल्याब र स्वास्थ्य कार्यालय सञ्चालन नभएपछि सेवाग्राही मारमा परेपछि आइतबार नै जिल्ला प्रशासनमा बसेको पीडित पक्ष र अस्पताल प्रशासनबीच दोषी देखिएका डाक्टरलाई कारवाही तथा स्वास्थ्य कार्यालय प्रमुख झालाई समेत कारवाहीको लागि विभाग र मन्त्रालयमा लिखितरुपमै पत्राचार गरिएपछि आज बिहानैदेखि सो अस्पताल सञ्चालन भएको हो । 

दोषी डाक्टर तथा स्वास्थ्य कार्यालय प्रमुख झामाथि कारवाहीको लागि सहमतिपश्चात् बालिकाको शव अन्तिम संस्कारको लागि लगिएको थियो भने आज बिहानैदेखि अस्पताल पूर्ववत् नै सञ्चालन भएको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!