सरकारीभन्दा सस्तो मूल्यमा रेडियोलोजी सेवा शुरु

Posted on: 24 Jun, 2019

असार ९, काठमाडौँ । मेट्रो रेडियोलोजी एण्ड इमेजिङ प्रालि (एमआरआई सेन्टर) ले सरकारी दरभन्दा सस्तोमा रेडियोलोजी सेवा उपलब्ध गराउन शुरु गरेको छ । 

विसं २०५६ देखि रेडियोलोजीअन्तर्गतका एक्सरे, अल्ट्रासाउण्ड, सिटी स्क्यान र एमआरआई सेवा निजीस्तरबाट उपलब्ध गराउँदै आएको थियो । सेन्टरका प्रशासकीय अधिकृत रवीन बस्न्यातले एमआरआई सेवा रु सात हजार, सिटी स्क्यान दुई हजार ६०० देखि रु नौ हजार १०० सम्म, अल्ट्रासाउण्ड रु ८००, मेमोग्राफी रु एक हजार ५०० र डेन्टल ओपिजी ९०० मा उपलब्ध गराउन शुरु गरिएको जानकारी दिनुभयो ।

ती सेवाको दर सरकारी अस्पतालले प्रदान गर्ने दर भन्दा सस्तो रहेको बताइएको छ । सेन्टरका गतिविधिका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले रेडियोलोजी सेवा नाफामूखीभन्दा गरीब जनताको सेवाभावले सञ्चालन भएको जानकारी दिनुभयो । न्याम्सअन्तर्गतको वीर, त्रिविवि शिक्षण, निजामती लगायतका अस्पतालमा अहिले पनि विशेष गरी एमआरआई सेवा लिन बिरामीले कम्तिमा एक हप्ता पालो कुर्नुपर्ने बाध्यता छ । 

“बिरामीले आफूले चाहेका समयमा तत्काल रेडियोलोजी सेवा उपलब्ध गराउनु हाम्रो ध्येय छ । बिहान सेवा लिनेलाई साँझ र साँझ सेवा लिनेलाई भोलिपल्ट बिहान रिपोट दिन्छौँ । यहाँ आएपछि पालो कुरिरहनु पर्दैन”, बस्न्यातले भन्नुभयो । सेन्टरमा रेडियोलोजिष्ट प्रा डा निर्मल न्यौपाने, प्रा डा रिन्की न्याछ्यो, प्रा डा शर्मा पौडेललगायत चिकित्सकले सेवा प्रदान गरिरहनुभएको छ । 

उहाँहरु चिकित्सा अध्ययन संस्थानबाट रेडियोलोजीमा एमडी प्राप्त चिकित्सक हुनुहुन्छ । सो विषयमा स्वर्णपदक विजेता प्रा डा न्यौपानेले यहाँको रेडियोलोजी सेवा सरकारी दरको भन्दा सस्तो रहेको जानकारी दिँदै बिरामीलाई आफूले चाहेको सयममा सेवा दिन सेन्टर सफल रहेको दाबीसमेत गर्नुभयो । 

पछिल्लो समय अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआई तथा पेट स्क्यान उपकरणको आविष्कारसँगै रेडियोलोजी सेवाले फड्को मारेको छ । अस्पतालमा सेवा लिन जाने बिरामीको आवश्यकतानुसार प्रारम्भिक परीक्षण मुख्यतया एक्सरे जाँचबाट हुन्छ । हाड जोर्नी भाचिएका, छातिमा संक्रमण आदिको परीक्षणमा एक्सरे जाँचले प्रारम्भिक समस्याको पहिचान गर्न सहयोग पुग्ने चिकित्सकले जनाएका छन् । 

रेडियोलोजिष्ट प्रा डा न्यौपानेका अनुसार अल्ट्रासाउण्ड अति सुक्ष्म ध्वनिको प्रयोगबाट शरिरको अङ्गमा जाँच गर्ने आधुनिक उपकरण हो । गर्भाअवस्थादेखि भ्रण, सुत्केरी अवस्थासम्म आमा तथा नवजात शिशुको समस्या पहिचान, पेट, स्तन लगायतको अल्ट्रासाउण्डबाट रोगको पहिचान गर्न सजिलो हुन्छ । 

सिटी स्क्यानले विशेष गरी चोटपटक (ट्रमा)का समस्या पहिचान गर्न सजिलो हुन्छ । मस्तिष्कमा रगत जमेमा, हड्डी तथा करङ भाचिएको तुरन्त पत्ता लगाउन यही उपकरणको सहयोग लिइन्छ । “पेट तथा छातिको रोग निदान गर्न भरपर्दाे  माध्यम सिटी स्क्यान नै हो । धमनीसम्बन्धी रोग, टाउकोको क्यान्सर पत्ता लगाउन यसले सहयोग गर्छ”, उहाँले भन्नुभयो । 

यसैगरी चुम्बकीय शक्तिबाट सञ्चालन हुने अति उच्चस्तरको प्रविधिका रुपमा रहेको एमआरआईको सहायताले स्नायु, मेरुदण्ड, हाडजोर्नीलगायत रोग पहिचान गर्न यसको प्रयोग हुन्छ । यसको सहयोगले नरम तन्तु स्पष्ट देखाउछ । “हामीले पछिल्लो समय दक्षिण एशियाकै उत्कृष्ट एमआरआई उपकरणबाट सेवा दिइराखेका छौँ”, प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!