महोत्तरी : गाडीको विषयमा असन्तुष्टि जनाउँदै नगर उपप्रमुखद्वारा नगरपालिकामा ताला

Posted on: 24 Jun, 2019

असार ९, महोत्तरी । नगरपरिषद्को  पूर्वसन्ध्यामा रामगोपालपुर  नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आज नगरउपप्रमुख सीता देवीले गाडीको विषयमा असन्तुष्टि जनाउँदै कार्यालयमा तालाबन्दी गर्नुभएको हो । 

आफूले चढ्ने गाडीमाथि नगरप्रमुख अशोककुमार मण्डलले कब्जा जमाएको र सोही कारण नगरयोजना तर्जुमा कार्यक्रम अगाडि बढ्न नसकेको तथा प्रमुखले केही वडाध्यक्षसँग मिलेर मनपर्दी रुपमा कर उठाउँदै आएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको उपप्रमुख साहले बताउनुभयो । 

त्यस्तै नगरप्रमुखका स्वकीय सचिव रामजानकी मण्डलले उपप्रमुखको अधिकारमाथि हस्तक्षेप गरेको र यस सम्बन्धमा नगरप्रमुखले चासो नलिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँले बताउनुभयो । न्याय नपाएसम्म तालाबन्दी जारी रहने उहाँको भनाइ छ । 

सरकारी गाडीलाई उपप्रमुखले निजी काममा प्रयोग गर्दै आएकोले आफूले रोक्न खोज्दा विवाद भएको नगरप्रमुख मण्डलले रेडियो बताउनुभयो । उपप्रमुखले आफ्नो छोराको विवाह प्रायोजनका लागि गाडी दुरुपयोग गर्दै आएको नगरप्रमुख मण्डलको आरोप छ । नगरपालिकाको मुलगेटमा ताला लागेपछि मङ्गलबार हुने भनिएको नगरपरिषद् नहुने निश्चित बनेको छ ।   

यसैबीच महोत्तरीको भंगहा नगरपालिकाको चौथो नगरसभा आज शुरु भएको छ । एक समारोहबिच नगरप्रमुख संजिवकुमार साहको अध्यक्षतामा नगरसभा उद्घाटन गरिएको हो । नगरभामा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!