मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

Posted on: 26 Jun, 2019

असार ११, मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (¥याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महीनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो । 

कालीगण्डकी नदीमा अङ्ग्रेजी महीना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (¥याफ्टिङ) सहज रूपमा सञ्चालन गर्न सकिन्छ । मनसुन शुरु भएसँगै नदीमा पानीको बहाब बढेपछि ¥याफ्टिङ रोकिएको व्यवसायी होमबहादुर पुनले जानकारी दिनुभयो । “अघिल्लो वर्ष जुन ५ सम्म ¥याफ्टिङ गर्न सकेका थियौँ”,उहाँले भन्नुभयोे, “यस वर्ष जुन १५ सम्ममात्रै सञ्चालन भएको हो ।

 वर्षाको समाप्तिसँगै असोजको पहिलो साता अर्थात् सेप्टेम्बरदेखि पुन सञ्चालनमा आउने उहाँले बताउनुभयो । छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्वीसा ¥याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ । लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने  गर्दछन् । 

सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई-तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुङ्गादेखि शुरु हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!