दाङ : चट्याङ्बाट मृत्यु भएका बालकका परिवारलाई किरियाखर्च

Posted on: 26 Jun, 2019

असार ११, लमही । चट्याङबाट मृत्यु भएका दाङको राप्ती गाउँपालिका–३ का तीनजना बालकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले रु एक÷एक लाख र राप्ती गाउँपालिकाले रु १५/१५ हजार उपलब्ध गराएको हो ।

गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको दैवी प्रकोपमा मृत्यु भएका परिवारलाई तत्काल राहत दिने शीर्षक अन्तर्गत किरियाखर्च उपलब्ध गराइएको हो । यो घटनाले गाउँपालिका नै शोकमा डुबेको भन्दै बालकका परिवारलाई  किरियाखर्चका लागि सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । 

उक्त रकमले किरियाखर्च तथा बालकहरुको नाममा सम्झनायोग्यकार्य गर्नसमेत परिवारलाई उहाँले अनुरोध गर्नुभयो । साथै गाउँपालिकाले चट्याङमा परी घाइते भएका अविनाश चौधरीको उपचारका लागि समेत रु १० हजार रकम उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष सुवेदीसहित, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनकप्रसाद भण्डारीले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 

मङ्गलबार साँझ साढे ६ः०० बजेतिर परेको चट्याङले ११ वर्षीय रमित चौधरी, ११ वर्षकै विनाश चौधरी र १३ वर्षीय सजन चौधरीको मृत्यु भएको थियो । राप्ती–४ स्थित मौरीघाट मावि नजिक रहेको जामुनाको रुखमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तीनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!