घिउकुमारीबाट लाखौँ कमाई गर्दै रामेछापका किसान

Posted on: 03 Jan, 2016

प्रज्वल पौडेल/ पुस, रामेछाप । आगोले पोलेको घरेलु औषधिका रुपमा चिनिने घिउकुमारी खेतीबाट रामेछाप मझुवाका किसानले लाखौँ रुपियाँ आम्दानी गरिरहेका छन् । रामेछाप मझुवा १ धुसालका किसान प्रकाश प्रधानले गतवर्ष २ सिजनमा गरी घिउकुमारीको जेल बेचेर ४ लाख रुपियाँ कमाइ गर्नुभएको छ । प्रधानले प्रतिकिलो १ सय रुपियाँमा घिउकुमारीको प्रशोधित जेल बिक्री गरेर आम्दानी गरेका हुन् । ७ वर्ष अघि सिन्धुली र रामेछापका स्थानीय जातको ५० हजार घिउकुमारीका बिरुवाबाट खेती सुरु गरेका प्रधानले हाल ४० रोपनी जग्गामा २ लाख विरुवा लगाएका छन् । हाल १ लाख विरुवाबाट उत्पादन लिइरहनुभएका प्रधानले अर्काे वर्षदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्ने दाबी गरे । असार र पुसमा गरी २ पटक पात टिपेर जेल निकाल्न सकिने घिउकुमारीको जेल काठमाडौँमा बिक्री हुने गरेको प्रधान दिव्य आयुर्वेदिक जडिबुटी प्रालीका प्रोपाइटर समेत रहेका छन् । प्रधानले जेल बनाउने मेशिन आफैँले ल्याएर उत्पादन गरिरहेका छन् । घिउकुमारीको जेल साबुन, स्याम्पू र आयुर्वेदिक औषधि निर्माणमा प्रयोग हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!