निगमले जापान, चीन र साउदीमा उडान गर्दै

Posted on: 27 Jun, 2019

असार १२, काठमाडौँ | राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो । निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ । यात्रुदेखि कार्गो एजेन्टका लागिसमेत ग्लोबल बोलपत्र आह्वान गरेको हो । जीएसएको टुङुगो एक महीनाभित्र लाग्ने निगमले जनाएको छ । जीएसए प्रक्रिया पूरा गरी दशैँअघिनै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले राससलाई जानकारी दिनुभयो ।

“साउदी उडानका लागि बोलपत्र आह्वान गरिसकेका छौँ, साउदीको सिभिल एभिएसनलाई बोलाएर अडिट गरेपछि आगामी अक्टोबर महीनासम्म उडान शुरु गरिनेछ”,उहाँले भन्नुभयो । साउदीमा विशेष गरी रोजगारीका लागि जाने नेपाली युवालाई लक्षित गरेर उडान गर्न लागिएको छ । सकेसम्म दशैँअघि नै रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेको निगमले जनाएको छ । यो गन्तव्यमा निगमले साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान गर्ने योजना छ ।

निर्धारित योजनाअनुरुप निगमले भदौ १२ गते (२९ अगष्ट २०१९) देखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ । यसअघि निगमले असार १९ गतेदेखि ओसाका उडान गर्ने योजना बनाए पनि टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकूल रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको थियो । निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । 

यस्तै, निगमले जापानको मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । निगमका अध्यक्ष मदन खरेलसहितको टोलीले हालै जापान सिभिल एभिएसनका अधिकारीसँग छलफल गरेको थियो । दुई पक्षीय बैठकपछि नारिता उडानका लागि सकारात्मक वातावरण बनेको सहायक प्रवक्ता कोइरालाले बताउनुभयो । नारिता उडानका लागि छिट्टै कागजात पठाइनेछ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

निगमले छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडान गर्नका लागि आवश्यक पहल गरिरहेको छ । चीनको गोञ्जाओ उडानका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसकेको निगमका प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “चीनको सिभिल एभिएसनले निगमको काजजातको सम्बोधन ‘डकुमेन्ट रेस्पोन्स’गर्दै थप कागजात मागेकाले त्यो पनि पठाइसकेका छौँ अबको २० दिनभित्र उडान अनुमति पाउँछौँ ।”चीन नेपालका लागि उपयुक्त स्रोत बजार मानिन्छ । चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६३३ पर्यटक आएका थिए । वाइडबडी ए ३३० जहाजबाट लामो गन्तव्यमा उडान भर्ने योजनाअनुरुप निगमले जापान, चीन, साउदीलगायत अन्य गन्तव्य पनि खोजी गर्दैछ । दक्षिण कोरियामा पनि उडानका लागि पहल गरिरहेको जनाएको छ । निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!