पेट्रोलियम पदार्थको अन्वेषणका लागि प्राविधिक टोली दैलेख आउँदै

Posted on: 27 Jun, 2019

हिक्मतबहादुर नेपाली, असार १२, दुल्लु । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित ‘चाइना जियोलोजिकल सर्भे’को टोली दैलेख आउन लागेको हो ।

दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्को सम्भावना अध्ययन गर्न टोली दैलेख आउन लागेको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटाका अनुसार नेपाल र चिनियाँ टोली आइतबार दैलेख आइपुग्नेछ । विभागका महानिर्देशक सापकोटाले आइतबार दैलेख पुगेर पेट्रोलियम अन्वेषण शुरु गरिने राससलाई जानकारी दिनुभयो ।

चीनले नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गर्न लागेको उहाँको बताउनुभयो । महानिर्देशक सापकोटाका अनुसार अन्वेषणका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक टोली नेपाल आइसकेका छन् । फरकफरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालनी गरिने महानिर्देशक सापकोटाले जानकारी दिनुभयो ।

“हामीले श्ुरुमै आएर उत्खनन्् गर्ने होइन्”, महानिर्देशक सापकोटाले भन्नुभयो, “अबको अन्वेषणले पेट्रोलियम खानीबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने भन्ने पहिल्याउने छ ।” व्यावसायिकरुपमा उत्पादन गर्न सम्भव भए कुन क्षेत्रमा उत्खनन् गर्दा सहज हुन्छ भन्नेबारे अध्ययन पनि गरिने उहाँको भनाइ छ । 

उत्खनन लागतअनुसारको व्यावसायिक उत्पादनको सम्भाव्यता यकिन गरिने विभागका महानिर्देशक सापकोटाले बताउनुभयो । दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । दैलेखको श्रीस्थान जमीनमुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करीब ३०० वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । विभागका महानिर्देशक सापकोटा ती सबै स्थानमा अन्वेषणको गरिने बताउनुभयो । 

‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । यो सम्झौताको अवधि तीन वर्षको छ । चिनियाँ र नेपालको विज्ञ र प्राविधिक टोलीले पहिलो चरणमा दैलेखलगायत तानसेनमा समेत भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचान गर्ने विभागका महानिर्देशक सापकोटाले बताउनुभयो । उहाँका अनुसार दोस्रो चरणमा दैलेखमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेस्रो चरणमा समग्र नेपालमा पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने उहाँको भनाइ छ । “तीन वर्षमा हामीले तोकिएको क्षेत्रमा पेट्रोलियम खानीको अन्वेषण गरेर व्यावसायिक सम्भाव्यता छछैन भन्ने टुङ्गो लगाउनेछौँ”, विभागका महानिर्देशक सापकोटाले भन्नुभयो । दैलेखबाट प्रदेश र सङ्घमा निर्वाचित सांसद र स्थानीयवासीले पनि दैलेखमा रहेको पेट्रोलियम ग्यास उत्खनन गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । 

चार वर्षपछि अन्वेषण शुरु

नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको चरम सङ्कट भएसँगै नेपालमा खानी उत्खननका आवाज उठेको थियो । लगत्तै तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली २०७२ पुसमा दैलेख आइपुग्यो । पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आउनुभएका मन्त्री पाण्डेले दैलेखको श्रीस्थानमा पुगेर पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना कार्यको शुरुआत गर्ने उद्घोष गर्नुभएको थियो ।

त्यसबेला चीनबाट आएको छ सदस्यीय चाइना जियोलोजिकल सर्भेको टोलीले सम्भाव्यता अध्ययन गरी विभिन्न स्थानमा प्राकृतिक ग्यास रहेको पुष्टि गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो । चीनले गरेको प्रारम्भिक अध्ययनबाट उक्त क्षेत्रमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भइसकेको छ । विसं २०७२ चैतमा यही कार्यका लागि चीन र नेपालबीच प्रधानमन्त्रीस्तरमा द्विपक्षीय समझदारी भइसकेको थियो तर सरकारले गत माघमा मात्रै चीनलाई पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । 

विकासको कोसेढुङ्गा : सांसद शर्मा

दैलेख निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रवीन्द्रराज शर्माले दैलेखको दुल्लु नगरपालिका र भैरवी गाउँपालिका क्षेत्रमा रहेको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन भए मुलुकको विकासमा कोसेढुङ्गा सावित हुने बताउनुभयो । सांसद शर्माले दैलेखमा पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनपश्चात् व्यावसायिक उत्पादन गर्न सकिने भए तत्काल उत्खननको कार्य शुरु गर्न पहल गरिने राससलाई बताउनुभयो । उहाँले मन्त्री तथा पूर्वमन्त्रीसहित सांसदको टोली पनि दैलेख आउने कार्यक्रम तय भएको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!