विदेशबाट फर्किएर सिरिन्ज आक्रमण: आक्रमणकारी मध्यराति पक्राउ परे, यस्तो छ बयान

Posted on: 28 Jun, 2019

असार १३, काठमाडौं | युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आज शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने जनाएको छ । 

पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले रामेछापका उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो । 

उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।‘मैले सिरिन्ज हानेको होइन, ढलानको काँटीले घोचेको हुँ’, पक्राउ परेपछि प्रहरी अधिकारीसँग बयान दिँदै उनले भनेका छन् । उनी केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।  सिरिन्ज आक्रमणमा परेका भनिएका केही युवती अहिले पनि अस्पतालमा उपचाररत छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!