नवलपरासीबाट लागुऔषधसहित तीन युवक पक्राउ

Posted on: 28 Jun, 2019

असार १३, कावासोती । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

 भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजकलाई पक्राउ गरिएको हो । उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध साथै प्रयोग भइसकेको सिरिन्ज तीन थानसमेत बरामद गरिएको छ ।

यस्तै सोही स्थानमा बझाङबाट काठमाडौँका लागि छुटेको  ना६ख १३३३ नंको बसमा सवार ललितपुरका २६ वर्षीय  विक्रम थोकर र ललितपुरकै महालक्ष्मी नगरपालिका–३ का ३७ वर्षीय श्यामसुन्दर पौडेललाई लागुऔषधसहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट लागुऔषध नुर्फिन १०९ थान, डाइजापाम १०९ थान र फेनरागन १०९ थान गरी जम्मा ३२७ थान लागुऔषध बरामद गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । 

सुस्तावासीलाई आफ्नै वडा कार्यालय पुग्न सास्ती

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीलाई आफ्नै वडा कार्यालय भवन आउन सास्ती भोग्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय संरचनाअनुसार सुस्तागाउँ, सुस्ता गाउँपालिका–५ मा पर्दछ । तर सुस्तामा भने वडा कार्यालय भवन छैन । नारायणी नदीपारि सो वडा कार्यालयको भवन पक्लिहवाको रामनगरमा छ ।

 कार्यालय भवन आउन सुस्तागाउँदेखि करीब दुई घण्टासम्म लाग्ने गर्दछ । विशेषगरी सहज यातायातको पहँुच नहँुदा सुस्तावासी नारायणी नदीमा डुङ्गाको प्रयोग गरेर आउनुपर्ने अथवा भारतीय भूमि हँुदै नेपाल प्रवेश गरेर सो वडामा पुग्न करीब दुई घण्टा लाग्ने अवस्था छ ।

 सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा नारामै सीमित भएको र सुस्तावासीले वडा कार्यालय पुग्नसमेत निकै सास्ती भोग्नुपर्ने अवस्था रहेको सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङ बताउनुहुन्छ । नारायणी नदीमा डुङ्गाको यात्राबाहेक भारतको बाटो हँुदै नेपाल पुग्नुपर्ने बाध्यता छ । यसअगावै पटक–पटक भारतीय सुरक्षाकर्मीको चरम दुव्र्यवहार हुने गरेका कारण अधिकांश सुस्तावासी भारतीय भूमि हँुदै नेपाल जाने गर्दैनन् ।

 नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्राका कारण वडा कार्यालय आउन पनि सुस्तावासीलाई निकै सास्ती भोग्नुपर्ने बाध्यता छ । आफ्नै वडा कार्यालय भवन पक्लिहवा जान नारायणी नदीमा पुल नभएकाले वर्षाको समयमा जोखिमपूर्ण डुङ्गा तरेर आउन पनि निकै समस्या भएको सुस्ता बचाऊ अभियानका उपाध्यक्ष आदम खाँ बताउनुहुन्छ ।

वर्षाको समयमा नारायणी नदीमा पानी बढेर डुङ्गासमेत नचल्ने अवस्था हुन्छ । नारायणी नदीमा पुल निमार्णको काम शुरु भए पनि बीचैमा अधुरो रहेको अवस्था छ । अहिलेसम्म पुल निर्माणकार्य पूरा हुन नसक्दा दैनिकरूपमा चाहिने सामानका लागि सुस्तावासी भारतीय बजार जान बाध्य छन् ।

 निर्माणाधीन झोलुङ्गे पुल चाँडै सम्पन्न गर्ने कार्यमा गाउँपालिका लागिपरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे बताउनुहुन्छ । यद्यपि सुस्तावासीले नारायणी नदीमा पुल बन्ने आस अहिलेसम्म मारेका छैनन् । दुई सय ६५ घरधुरी रहेको सुस्तामा करीब दुई हजार ५०० जनसङ्ख्या छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!