बोक्सी कुप्रथाविरुद्ध अग्नि दहन प्रदर्शन

Posted on: 28 Jun, 2019

असार १३,  स्याङ्जा | स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’प्रदर्शन गरिएको हो । 

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको संयोजनमा प्रदर्शन गरिएको जनचेतनामूलक वृत्तचित्रलाई गण्डकी प्रदेशका सबै जिल्ला तथा सातै प्रदेशमा प्रदर्शन गरिने प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्यायले बताउनुभयो ।

“हाम्रो समाजमा अझै पनि बोक्सीको आरोपमा कुटपिट गर्ने, मलमूत्र खुवाउने, सामाजिक वहिष्कार गर्ने प्रवृत्ति छ”,प्रतिष्ठानका अध्यक्ष उपाध्यायले भन्नुभयो, “समाजमा रहेका अन्धविश्वास, कुरीति, डर भयलाई हटाउन यो अभियानलाई देशैभर पु¥याई प्रदर्शन गरिनेछ ।”

समाजमा सदियौँदेखि यसप्रकारका कुप्रथाले जरा गाडेर बसेकाले पनि यस्ता कुरीति तथा कुप्रथाको अन्त्यका लागि बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’निर्माण गरी प्रदर्शन गरिएको प्रतिष्ठानका सचिव रमा त्रिपाठीले बताउनुभयो ।

“हाम्रो समाजमा जबसम्म मानिस सचेत हुँदैनन्, तबसम्म कुप्रथा अन्त्य हुने अवस्था म देख्दिनँ”,गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख केदारनाथ आचार्यले भन्नुभयो, “धर्म संस्कृतिको नाममा समाजमा बोक्सी कुप्रथाले जरा गाडिरहेको अवस्थामा यसको अन्त्यका लागि सामाजिक संस्कारको आवश्यकता छ ।”

घनश्याम लामिछानेद्वारा निर्देशित वृत्तचित्र ‘अग्नि दहन’ले बोक्सी आरोपमा परेकी महिलाको कथा बोल्छ । फिल्मको कथा, पटकथा र संवाद लोकमणि पौडेलले लेख्नुभएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!