सुदूरपश्चिमका प्रमुख शहरमा सिसी क्यामेरा जडान गर्ने तयारी

Posted on: 28 Jun, 2019

असार १३, धनगढी | सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सुदूरपश्चिमका सबै प्रमुख शहरमा सिसी टिभी क्यामेरा जडान गर्ने बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले आज कञ्चनपुरको झलारी बजारमा आयोजना गरेको ट्राफिक सचेतनासम्बन्धी कार्यक्रममा मन्त्री शाहले प्रदेश सरकार सडक सभ्यता एवं शहरी दुर्घटना न्यूनीकरणका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने बताउनुभयो ।

सुदूरपश्चिममा सडक दुर्घटना बढिरहेकोप्रति प्रदेश सरकार सचेत रहेको बताउँदै उहाँले त्यसको न्यूनीकरणका लागि प्रमुख शहरमा सिसी टिभी क्यामेराज जडान गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले ट्राफिक सचेतना र सवारी दुर्घटना न्यूनीकरणका लागि स्थानीय सरकार आवश्यक सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । ‘बढ्दो दुर्घटना न्यूनीकरणका लागि स्थानीय स्तरमा पहल गर्न ट्राफिक प्रहरीसित समन्वय गरेर अघि बढ्छौँ”,उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकार पनि यसबारे गम्भीर हुनु जुरुरी छ ।”

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्साल, शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख तुलसी हमालका साथै कैलाली-कञ्चनपुरका प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!