दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 29 Jun, 2019

असार १४, लमही । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दङ्गीशरण–७ श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दङ्गीशरण–७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

गाडी अनियन्त्रित भई बिहान ८ः३० बजे दुर्घटना हुँदा गम्भीर घाइते ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । रा १ ज ४३६ नं को जीप दुर्घटनामा परेको हो । उक्त जीपमा अन्य तीन जना सवार रहेपनि अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रशासन प्रमुख सवार गाडी दुर्घटना

इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यादव सुवेदी सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर कल्भर्टबाट सुवेदी सवार रा १ झ ९९ नं को सरकारी कार दुर्घटनामा परेको हो ।

आज तुलसीपुुरबाट घोराही जाँदै गर्दा बिहान सडकमा चिप्लिएर कार दुर्घटनामा पर्दा प्रमुख सुवेदी घाइते हुनुभएको छ । उहाँलाई अहिले राप्ती प्रादेशिक अस्पतालमा राखिएको र थप उपचारका लागि काठमाडौँ पठाउन लागिएको इलाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । सुवेदीको टाउकोमा चोट लागेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!