भक्तपुरमा एक महिलाको घाँटी रेटेर हत्या

Posted on: 30 Jun, 2019

असार १५, भक्तपुर । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । 

ज्वाइँको घरमा बस्दै आउनुभएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिनुभयो । 

ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेडतले घरमा बस्दै आउनुभएकी भट्टराईको हत्या भएको हो । प्रहरी उपरीक्षक प्रधानले  प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करीब १०ः३० बजेपछि मोटरसाइकलमा आएका तीन युवा घरभित्र पसेर हत्या गरेको देखिन्छ भन्नुभयो  । 

प्रहरीले घटनाको दिउँसो १ बजे मात्रै जानकारी पाएपछि प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलको अनुसन्धान गर्दै मुचुल्का उठाउने काम गरेको उहाँले जानकारी दिनुभयो । 

कोठाभित्रै गएर हत्या भएको जानकारी दिँदै उहाँले हत्यामा संलग्नको खोजी भइरहेकोे बताउनुभयो । 

बिरुवा रोपिए

भैरव बहानगण गुल्मले आफ्नो परिसरमा आज विभिन्न जातका ३०० भन्दाबढी बिरुवा रोपेको छ । 

मध्यपुरथिमि गठ्ठाघरस्थित गुल्म परिसरमा आयोजना गरिएको कार्यक्रममा मध्यपुर नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, गुल्मपति हिमालय थापालगायतले फलफूलका विभिन्न जातका बिरुवा रोप्नुभएको थियो । 

नेपाली सेनाले यो वर्ष वर्षायामअगावै एक लाख ५० हजार ९७७ बिरुवा रोप्ने अभियान शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाबाट शुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भ गर्नुभएको ‘एक घर एक फलफूलको बिरुवा रोप्ने’ कार्यक्रमलाई मूर्तरूप दिन सेनाले ‘एक जवान एक बिरुवा अभियान’ सञ्चालन गरेको हो ।

उक्त अभियानअन्तर्गत भएको सो कार्यक्रम नासपाति, आँप, लिची, सुन्तला, अम्बा, निबुवा, भोगटे, अङ्गुरलगायत बिरुवा रोपिएको हो । गुल्मपति सेनानी हिमालय थापाले मध्यपुरथिमि नगरपालिकाकोसमेत सहयोगमा रोपिएका बिरुवा मध्यपुरथिमिकै सम्पत्तिका रुपमा रहने बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमिका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलगायत अन्य प्रतिनिधिको सहभागिता थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!