नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

Posted on: 01 Jul, 2019

असार १६, कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।

आज बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार ३३ वर्षीय तारा पोखे्रलको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा लगिएकोमा दुवैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको पश्चिमाञ्चल विकास क्षेत्रमा गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनाको लगतका आधारमा नवलपरासी जिल्ला अन्य जिल्लाको तुलनामा बढी दुर्घटना हुने जिल्ला हो । 

लामो राजमार्ग भएकाले नवलपरासीमा दुर्घटना बढी हुने गरेको छ । दाउन्ने देखि गैंडाकोटसम्म सवारी दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!