भूकम्प पिडित बाट रकम अशुल्ने १९ प्राविधिक कारवाहीमा

Posted on: 01 Jul, 2019

असार १६, काठमाडौँ | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ । 

प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिक विभिन्न गैरकानूनी काममा संलग्न रहेको आरोपमा कारवाही गरिएको हो । भूकम्पपीडितबाट गैरकानूनी रुपमा रकम असुलेको, पीडितलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र जिल्ला आयोजना कार्यान्वयन एकाइले दिएका निर्देशन पालना नगरेका कारण कारवाही गरिएको प्राधिकरणले जनाएको छ ।

 ती प्राविधिकको करार सम्झौता भङ्ग गरी नियमानुसार कारवाही गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । कारवाहीमा पर्नेमा १२ इञ्जिनीयर, पाँच सव–इञ्जिनीयर र दुई जना सहायक सव–इञ्जिनीयर छन् ।

 तीमध्ये नुवाकोटमा कार्यरत आठ, काभ्रेपलाञ्चोकमा कार्यरत तीन,  सिन्धुपाल्चोकमा कार्यरत दुई, दोलखामा कार्यरत दुई, धादिङमा कार्यरत दुई जना छन् । भोजपुर र सोलुखुम्बुमा कार्यरत एक–एक जना प्राविधिक रहेको उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!