नुवाकोटमा चार करोडको लागतमा विद्यालय भवन निर्माण

Posted on: 01 Jul, 2019

असार १६, विदुर । नुवाकोटको लिखु गाउँपालिका–३ ठूलोडाँडामा रु चार करोड ५० लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको छ । ठूलोडाँडास्थित नव प्रकाश माविको सो भवनको सांसद बहादुरसिहं लामाले आज एक कार्यक्रमबीच उद््घाटन गर्नुभयो । 

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण विद्यालय भवन भत्केको थियो । त्यसयता टहरामा पठनपाठन गरिँदै आएको थियो । अहिले १३ कोठे भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय एकाइको समन्वय तथा जापानी सहयोग नियोग (जाइका)को आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको हो । 

कार्यक्रममा लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष भोला सेडाइ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राई, विद्यालयका प्रधानाध्यापक श्यामबहादुर राईलगायतको उपस्थिति रहेको थियो । कृषकलाई हाते ट्र्याक्टर वितरण

नुवाकोटको विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ ।   असारे धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्र्याक्टर वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ । 

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक कृषक एक उपकरण पु¥याउने विदुर नगरपालिकाको योजनाअनुसार ट्र्याक्टर वितरण गरेको भन्दै आगामी दिनमा कृषकलाई प्रविधिमैत्री बनाएर व्यावसायिक उत्पादनलाई बढवा दिने बताउनुभयो । प्रमुख पण्डितले हिजोको दिनमा भनसुनको आधारमा केही व्यक्तिले कृषि औजार पाउने गरेको भन्दै अबका दिनमा मापदण्डको आधारमा वितरण गरिने बताउनुभयो । 

कार्यक्रममा विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चापागाईंले कृषकलाई प्रोत्साहन गर्न र उत्साही र खाद्यान्नमा आत्मनिर्भर बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको बताउनुभयो । 

हाते ट्र्याक्टर पाएपछि कृषकले खुशी व्यक्त गरेका छन् । हाम्रो सहकारी संस्था लिमिटेडका प्रतिनिधि बद्री रिजालले गाउँमा खेती गर्न गोरु पाउन छाडेकाले नयाँ हाते ट्र्याक्टर पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले कृषकलाई ५० प्रतिशतमा दिएको अनुदान अझै कम भएको बताउनुभयो । नगरपालिकाले वितरण गरेको २२ वटा हाते ट्र्याक्टर विभिन्न १३ कृषक सहकारी, कृषि समूहलाई वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जनाएको छ । यसअघि पनि गत पुस महीनामा नगरपालिकाले किसानलाई २६ हाते ट्र्याक्टर वितरण गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!