जिल्ला अस्पताल एम्बुलेन्सविहीन

Posted on: 02 Jul, 2019

असार १७,  स्याङ्जा | जिल्ला अस्पतालको एम्बुलेन्स झण्डै एक वर्षदेखि बिग्रिएर थन्किएपछि बिरामी मारमा परेका छन् ।  एम्बुलेन्स थन्किए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । 

बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर अन्यत्र लैजानुपर्ने हुन्छ । अरु सवारीसाधनमा यसका लागि गाह्रो हुन्छ । पुतलीबजार नगरपालिका–३ का रवीन्द्र श्रेष्ठ एम्बुलेन्स नहुँदा पटक पटक सास्ती भोग्नुपरेको बताउनुहुन्छ । जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा अमृत पोख्रेलले बिरामीले ट्याक्सीको भर पर्नुपरेको बताउनुभयो । “अहिलेसम्म कतैबाट सहयोग पाउन सकेका छैनौँ”,उहाँले भन्नुभयो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले विगतमा बिग्रिएको एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर सञ्चालन गरे पनि एक वर्षयता मर्मत गर्न नसकिएको बताउनुभयो । “मर्मत गर्दागर्दै हैरान भएपछि एम्बुलेन्स थन्क्याएका हौँ”, उहाँले भन्नुभयो । 

दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१३ का कोसिन्दर क्षेत्रीको मृत्यु भएको छ । उहाँको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मङ्गलबार भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा ग १६ प ९१२४ को स्कुटर दुर्घटना हुँदा त्यसमा सवार क्षेत्री र चालक राजेश केसी घाइते भएका थिए । स्कुटर अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!