दैलेख : सिँचाइ सुविधाले कृषक उत्साहित

Posted on: 03 Jul, 2019

 असार १८, दुल्लु । दैलेख नारायण नगरपालिका–१० भवानी तौलीको ८२ रोपनी जमीनमा सिँचाइ सुविधा पुगेपछि कृषक खेतीतर्फ उत्साहित भएका छन् । 

खेतीयोग्य जमीन भए पनि भरपर्दो सिँचाइको सुविधा नहुँदा यहाँका कृषकले जग्गा बाँझो राख्न बाध्य भएका थिए । तर नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम र नारायण नगरपालिका–१० ले कालेखोला तौलिया सिँचाइ कुलो निर्माण गरेपछि ८२ रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुगेको छ । यसबाट २६ भन्दा बढी घरधुरी कृषक लाभान्वित भएका छन्् । कालेखोलाको पानी ७०० मिटर लामो पक्की कुलो निर्माण गरेर खेतसम्म पु¥याइएको छ । यसले कृषकलाई समयमै रोपाइँ गर्न र व्यावसायिक खेती गर्ने बाटो खुलेको छ ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको २४ लाख आठ हजार ४९३ र नारायण नगरपालिका–१० को चार लाख गरी कूल रु २८ लाख आठ हजार ४९३ को लागतमा गत फागुनबाट शुरु भएको सिँचाइ कुलो निर्माण कार्य सकिएको छ । न्यू कालिका निर्माण सेवाले सिँचाइ कुलो निर्माणको जिम्मा पाएको थियो । सिँचाइ कुलो निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने समय अघि नै काम सकिएको हो ।

कुलोबाट यहाँका १६१ जनसङ्ख्या लाभान्वित भएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला संयोजक दिनेश घिमिरेले बताउनुभयो । यस वर्षदेखि सिँचाइ सहज भएपछि कृषकले विगतको तुलनामा धान उत्पादनमा वृद्धि हुने संयोजक घिमिरेले बताउनुभयो । “हिउँदेयाममा सबै जमीन बाँझो हुन्थ्यो, सिँचाइ सुविधा आयो, अब सिँचाइ अभाव टरेको छ”, कृषक इशारा बस्नेतले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!