नुवाकोट : स्थानीयवासीलाई खानेपानी वितरण गरिने

Posted on: 04 Jul, 2019

असार १९, विदुर । नुवाकोटको विदुर नगरपालिका–५ स्थित पीपलटारको मुख्य चोकमा डिप बोरिङबाट खानेपानी वितरण गरिने भएको छ ।

प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा, नगरपालिकाको कार्यालय, विदुर नगरपालिका–५ को वडा कार्यालय र स्थानीयवासीको आर्थिक सहयोगमा डिप बोरिङ निर्माण भएको हो ।

रु २० लाखको लागतमा निर्माण भएको बोरिङ निर्माणका लागि सांसद खतिवडाले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रु सात लाख, विदुर नगरपालिका–५ कार्यालयबाट रु पाँच लाख, विदुर नगरपालिकाको कार्यालयबाट रु चार लाख  र स्थानीयवासीको रु चार लाख सहयोग गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी उद्धव पनेरुले जानकारी दिनुभयो ।  

पनेरुले डिप बोरिङको पानीले पीपलटारका करीब सय घरधुरी लाभान्वित हुने र बोरिङमार्फत प्रत्येक घरमा धारा जडान गर्ने बताउनुभयो ।

सञ्चालनमा आएको डिप बोरिङको पानीबाट पीपलटार, माझगाउँ, देविघाट, भथ्रोक लगायतका स्थानमा खानेपानीको व्यवस्था सहज हुने बताइएको छ । बोरिङको पानीलाई एक साता परीक्षण गरी त्यसपछि वितरणको व्यवस्था मिलाइनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!