दुईवर्षदेखि हटेको लोडसेडीङ पुन: सुरु, लोडसेडीङ तालिका दैनिक चारदेखि छ घण्टासम्म

Posted on: 05 Jul, 2019

असार २०, कंचनपुर | नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको विद्युत्भार कटौती लालपुर सबस्टेशनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युत्भार कटौतीको तालिका सार्वजनिक गरिएको छ ।

दुई वर्ष अघिदेखि हटेको विद्युत्भार कटौतीको तालिका पुनः शुरु गरिएको छ । प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख पवनकुमार भट्टको हस्ताक्षरित विद्युत्भार कटौतीको तालिकामा दैनिक चारदेखि छ घण्टासम्म विद्युत्भार कटौती गरिने जनाइएको छ ।

तालिकाअनुसार बिहान, अपराह्न र राति गरी वाणी, पिपलाडी र झलारी फिडरमा छ घण्टा, भीमदत्तनगर, बनगाँउ, भाँसी, ऐठपुर, गड्डाचौकी र दोधारा चाँदनी फिडरमा चार घण्टा विद्युत्भार कटौती हुने जनाइएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि विद्युत्भार कटौती तालिका सार्वजनिक गरिएको छ । 

गर्मी बढेको र मनसुनी वर्षा नभएकाले लालपुर १३२ केभी सबस्टेशनमा जडान गरिएको पावर ट्रान्सफर्मरको क्षमताले नधान्ने अवस्था आएकाले विद्युत्भार कटौती गर्नुपरेको प्राधिकरणका कर्मचारीको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिडले सबस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गर्न केही दिन लाग्ने भएकाले विद्युत्भार कटौती बाध्यतावश गर्नुपरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!