दाङ : आँखाका बिरामीको निःशुल्क शल्यक्रिया

Posted on: 05 Jul, 2019

असार २०, तुलसीपुर । स्थानीय सरकारको सहयोगमा यहाँका ८३१ आँखामा मोतियाविन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित  राप्ती  आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा ८३१ आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको सङ्घले जनाएको छ ।

आर्थिक अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गर्न नसकेका आँखाका बिरामीलाई स्थानीय निकायसँग साझेदारी कार्यक्रम सञ्चालन गरी निःशुल्क शल्यक्रिया गरिएको सङ्घका सभापति कृष्णकुमार गिरीले जानकारी दिनुभयो । आर्थिक अभावका कारण आँखामा लागेको मोतियाविन्दुको कारण कोही कसैले पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारसँग साझेदारी गरी निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गरेको सङ्घका अध्यक्ष गिरीको भनाइ छ । “हाम्रो अभियान सहज आँखा उपचार सेवा जनतालाई प्रवाह गर्ने हो, सोहीअनुरुप साझेदारी कार्यक्रमलाई अगाडि बढाएका हौँ, अब आर्थिक अभावका कारण कसैले पनि अन्धोपनमा जीवन बिताउनुपर्ने छैन”, उहाँले भन्नुभयो । 

चालू आर्थिक वर्षमा जिल्लाका १० स्थानीय निकाय र कर्णाली प्रदेशको सल्यान जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । जिल्लाका तुलसीपुर उपमहानगरपालिकाभित्रका ११४, घोराही उपमहानगरपालिकाका ४०, लमही नगरपालिकाभित्रका १५८, बबई गाउँपालिकामा ८८, गढवा गाउँपालिकामा १४७ राजपुर गाउँपालिकामा १०८, शान्तिनगर गाउँपालिकामा ५०, राप्ती गाउँपालिकामा २१, सल्यानको छत्रेश्वरी गाउँपालिकामा ५५ र कपुरकोट गाउँपालिकाका ५० ज्येष्ठ नागरिकको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो । 

त्यस्तै नेपाल सरकारको  स्वास्थ्य नीतिअनुरुप सबैलाई आँखा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालको उद्देश्य रहेको प्रशासक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “उपचार विधिबाट हटाउन सक्ने अन्धोपन न्यूनीकरणको अभियानमा हामीहरु छौँ, यसलाई निरन्तरता दिनेछौँ ।” त्यस्तै स्थानीय निकायका जनप्रतिनिधिले पनि ज्येष्ठ नागरिकलाई उज्यालो प्रदान गर्ने उद्देश्यले साझेदारी कार्यक्रम सञ्चालन गरेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उज्यालो संसार कार्यक्रमअन्तर्गत यो अभियान अस्पतालसँग साझेदारीमा सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले कार्यक्रमलाई निरन्तरता दिन आव २०७६÷०७७ मा पनि ‘उज्यालो संसार’ अभियानअन्तर्गत राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिकाभित्रका मोतियाविन्दु भएका बिरामीको निःशुल्क आँखाको शल्यक्रियाका लागि रु १० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

त्यस्तै राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले आर्थिक अभावका कारण घरमा नै मोतियाविन्दुको कारण आँखाको कमजोर भएका ज्येष्ठ नागरिकलाई शल्यक्रिया गरी उज्यालो प्रदान गर्न यस कार्यक्रमले सहयोग पु¥याएको भन्दै निरन्तरता दिने बताउनुभयो । 

त्यस्तै प्रदेश नंं ५ ले पनि आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखाको शल्यक्रिया शिविरको सञ्चालन गरी दृष्टिविहीनता अन्त्यका लागि आगामी आवका लागि रु पाँच करोड ४५ लाख बजेट विनियोजन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!