दाङमा खेत जोत्ने क्रममा एक बालकको मृत्यु, एक जना घाइते

Posted on: 05 Jul, 2019

असार २०, घोराही घोराही उपमहानगरपालिका–१७ मा ट्याक्टरले खेत जोत्ने क्रममा एक बालकको मृत्यु भएको छ । सो क्रममा एक जना घाइते भएका छन् । 

ट्याक्टरले जोत्ने क्रममा चिप्लिएर ट्याक्टर पल्टँदा दुई बालक च्यापिएका थिए । च्यापिएका बालकको उद्धार गर्ने क्रममा एक जनालाई घाइते अवस्थामा र एक जनालाई मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोदविक्रम शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा परी १४ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको थियो भने सोही ठाउँका ११ वर्षीय सुभास चौधरीको अवस्था गम्भीर रहेको बताइएको छ ।

सुभासको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बेलुकी करीब साढे ५ बजेको समयमा रा१त २९०१ नं.को ट्याक्टरले दुवै बालकलाई च्यापेको थियो ।

प्रदेशका १७६  प्रहरी कारवाहीमा

प्रदेश नं ५ का १७६ प्रहरी कारवाहीमा परेका छन् । प्रदेश नं– ५ प्रहरी कार्यालय दाङका अनुसार सबैभन्दा बढी प्रहरी जवान कारवाहीमा परेका छन् ।

प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार प्रहरी जवान ११६, प्रहरी हबलदार २५, प्रहरी सहायक निरीक्षक नौ र प्रहरी निरीक्षक सात जना कारवाहीमा परेका छन् । नौ जनालाई निलम्बन तथा सात जनालाई तलब स्केलमा घटुवा गरिएको छ । 

त्यस्तै नसिहदमा ९९, पदोन्नति रोक्का १३, तलबवृद्धि रोक्का १०, सेवाबाट हटाइएका १६, तल्लो टाइमस्केलमा घटुवा एक, सक्त चेतावनी १६ र चालचलन प्रतिकूल रहेका पाँच जना रहेका छन् । 

प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार प्रदेश प्रहरी कार्यालयबाट तीन, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट सात, प्रदेशको सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट एक र प्रदेशको दनिप्र गण सुनवल नवलपरासीबाट चार जना कारवाहीमा परेका छन् । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १५, अर्घाखाँचीबाट ११, कपिलबस्तुबाट २०, नवलपरासीबाट नौ, पाल्पाबाट चार, प्यूठानबाट दुई, बाँकेबाट ३२, रुकुमबाट दुई, बर्दियाबाट २८, दाङबाट ३०, रोल्पाबाट सात र गुल्मीबाट एक जना प्रहरी कारवाहीमा परेका छन् । प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार सन्तोसजनक काम नगरेको, आदेश नमानेको, अनुसासनहीन काम गरेकोजस्ता कारवाही गरिएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!