पोखराको विजयपुर खोलामा डाइभर्सन बाढीले बगाउँदा मालवाहक गाडी ठप्प

Posted on: 08 Jul, 2019

असार २३, कास्की । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ ।

पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । ठूला यातायातका साधनलाई नदीमा ह्युमपाइप राखेर वारपार गरिएकामा आइतबार रातिको बाढीले ह्युमपाइप बगाएको हो ।

डाइर्भसन बाढीले बगाउँदा पोखरा भित्रिने तथा पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्लामा जाने मालबाहक ट्रकको वारपार ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ठूला क्षमताका गाडी बिहान ५ बजेदेखि सडकमै रोकिएको प्रहरीको भनाइ छ ।

डिभिजन सडक कार्यालय पोखराले स्टिल पुलको आडमा बेलिब्रिज निर्माणका लागि सामग्री आइपुगेको तथा बेलिब्रिज जडान गर्नका लागि एबुटमेन्ट (पिलर) निर्माण सकिएकाले आजबाट जडानको काम शुरु गर्ने तयारी गरेको थियो । गत फागुन अन्तिम साता पुल जीर्ण भएको पत्ता लागेपछि १० टनभन्दा बढी क्षमताका साधनलाई नदीमा अस्थायीरूपमा ह्युमपाइप हालेर वारपार गराइन्थ्यो ।

कार्यालयका सव–इञ्जिनीयर किरण सुवेदीले सातदेखि १० दिनभित्र बेलिब्रिज जडानको काम सम्पन्न गरेर पुल सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, “इटहरीबाट बेलिब्रिजका सामग्री आइपुगेको छ, अब जडान शुरु हुन्छ । एक सातादेखि १० दिनभित्र काम सकेर पुल सञ्चालन गर्ने तयारी गरेका छौँ ।” 

कार्यालयका अनुसार दुई लेनको सो पुल ५० मिटर लामोे र भारवहन क्षमता १०० टनको रहने बताइन्छ । बेलिब्रिज निर्माणका लागि सडक कार्यालयले रु दुई करोड २० लाख लागतमा सगरमाथा÷जेजे जोइन्ट भेन्चर कम्पनीसँग गएको वैशाख २२ गते सम्झौता गरेको थियो । चर्किएको स्टिलब्रिज मर्मतको काम सकिए पनि सडक विभागबाट निरीक्षणमा आएका विज्ञहरुको प्रतिवेदन नआउँदासम्म ‘हेभी’ सवारीलाई प्रवेश नदिइने सुवेदीले बताउनुभयो ।

 मर्मतपछि यातायात सञ्चालन गर्न सकिने वा नयाँ पुलनै बनाउनुपर्ने भन्नेबारेमा प्रतिवेदन आएपछि निर्णय लिइने कार्यालयले जनाएको छ । बेलिब्रिज अस्थायी पुल भए पनि यसलाई १० वर्ष प्रयोगमा ल्याउन मिल्ने बताइन्छ । विजयपुरको सो पुल हुँदै दैनिक छ हजारको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर गर्ने बताइन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!