भेनेजुयली सरकार र प्रतिपक्षबीच पुनः वार्ता गर्ने सहमति

Posted on: 08 Jul, 2019

असार २३, ऐजेन्सी | भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन् ।

आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको हो । भेनेजुयलाका सूचना तथा सञ्चारमन्त्री जर्ज रोड्रिगेजले ट्वीटरमार्फत लेखेको सन्देशमा सरकारर प्रतिपक्षी दलले नर्वेको मध्यस्थतामा वार्ता गर्न सहमत भएको पुष्टि गर्नुभएको छ ।

“इतिहासले बोलिभरियन सरकारको स्मरणयोग्य अडानलाई वार्ताको शिलशिलामा पहिचान गर्नेछ,” रोड्रिगेजले सरकार र प्रतिपक्षको वार्ताका लागि भएको सहमतिबारे नर्वेको प्रेस विज्ञप्तिसमेत राखेर ट्वीट गर्नुभएको छ ।सञ्चारमन्त्री रोड्रिगेजले भन्नुभयो, “हामीलाई विश्वास छ राष्ट्रपति निकोलस मदुरोको शान्ति स्थापनार्थ प्रयास र राष्ट्रिय सहमतिले सफलता प्राप्त गर्नेछ ।” प्रतिपक्षी नेता हुवाँ गुआइदोले पनि एक प्रेस विज्ञप्ति जारी गरी प्रतिपक्षी दलले बार्बाडोसमा हुने वार्तामा सहभागिता जनाउने बताउनुभएको छ ।   “हाम्रो लक्ष्य देशमा व्याप्त राजनीतिक सङ्कटको निर्णायक समाधानमा सफलता पाउनु हो,” गुआइदोले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

उहाँले थप भन्नुभएको छ, “प्रतिपक्षी समूहको लक्ष्य ‘हस्तक्षेपको अन्त्य, सङ्क्रमणकालीन सरकार र अन्तर्राष्ट्रिय पर्यवेक्षणमा स्वच्छ तथा स्वतन्त्र निर्वाचन’ हो र यसैमा आफ्नो अडान राखिने छ ।

 नर्वेले भनेको छ, “भेनेजुयला सङ्कटबारे हामी सम्बन्धित समूहका प्रतिनिधिसँग बार्बाडोसमा यही हप्ता भेट हुँदैछौँ । वार्ताले संवैधानिक समाधानका लागि सहमति निर्माण गर्नेछ ।” वार्ता निरन्तर र शीघ्र रहनेछ ।”

भेनेजुयलाका प्रतिपक्षी नेता गुआइदोले निर्वाचित राष्ट्रपति मदुरोको सरकारलाई अमान्य घोषणा गर्दै आफुलाई भेनेजुयलाको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि र अमेरिकाले गुआइदोलाई मान्यता दिने निर्णयसँगै चर्किएको दुई पक्षबीचको राजनीतिक गतिरोधले यस बर्षको शुरूदेखिनै निकै गम्भीर मोड लिएको थियो ।

दुई पक्षबीच वार्ताका लागि पहल गर्न सहमति निर्माणका लागि दुवै समूहतर्फका प्रतिनिधिबीच मे महिनाको मध्यतिर नर्वेको राजधानी ओस्लोमा प्रारम्भिक छलफल शुरूभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!