स्याङ्जाको जिल्ला अस्पताल एम्बुलेन्सविहीन

Posted on: 08 Jul, 2019

असार २३, स्याङ्जा |  जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स करीब एक वर्षदेखि बिग्रिएर थन्किएको छ । सदरमुकाम नजीकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।  बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म  बिग्रिएर थन्किँदा बिरामीलाई समस्या हुने गरेको छ । 

पुतलीबजार नगरपालिका ३ का रवीन्द्र श्रेष्ठले एम्बुलेन्सको अभावमा विरामीले सास्ती भोग्नु परेको बताउनु भयो । जिल्ला अस्पतालमा गएका विरामीलाई थप उपचारको लागि अन्यत्र लैजानु पर्ने अवस्था आउदा एम्बुलेन्स र अन्य सवारी साधनमा लगिएका विरामीलाई अस्पतालले हेर्ने दृष्टीकोणमा समेत फरक हुने गरेको श्रेष्ठ बताउनुहन्छ । जटिल स्वास्थ्य अवस्था भएका विरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर पनि लैजानु पर्ने हुन्छ तर टयाक्सीमा यो सुविधा हुदैन यसले गर्दा पनि एम्बुुलेन्सको अभावमा विरामी मर्कामा परेको श्रेष्ठ बताउनु हुन्छ । 

जिल्ला अस्पतालका प्रमुख चिकित्सक अमृत पोख्रेलले करीब एक वर्षदेखि एम्बुुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको बताउनुभयो । पोख्रेलले भन्नुभयो,  “यहाँ उपचारका लागि आउने बिरामीहरु अन्यत्र रिफर गर्नुपर्ने अवस्था आयो भने ट्याक्सी खोजेर जाने गरेका छन् ।” अस्पतालका समस्या समाधानका लागि सबैले आश्वासन मात्रै दिने गरेको र अहिलेसम्म कहीँ कतैबाट त्यस्तो सहयोग नभएको उहाँले बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर जेनतेन सञ्चालनमा ल्याइए पनि पछिल्लो समय धेरै बिग्रिन थालेपछि मर्मत गर्न नसकिएको स्पष्ट गर्नुभयो । शर्माले भन्नुभयो,“ एक पटक मर्मत गर्दा डेढ दुई लाख खर्च हुन्छ, मर्मत ग¥यो, फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो, अहिले त्यसै थन्किएर बसेको छ ।” मर्मतसम्भार गरेर पार लाग्ने नदेखिएपछि गण्डकी प्रदेश सरकारसँग एम्बुुलेन्स माग गरिएको जानकारी उहाँले दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!