बेपत्ताको स्मृतिमा मन्थलीमा प्रतिक्षालय निर्माण

Posted on: 22 Jan, 2016

प्रज्वल पौडेल- माघ ८, रामेछाप । सशस्त्र द्वन्द्व र जनआन्दोलनको बेलामा वेपत्ता भएकाहरुको स्मृतिमा रामेछापको सदरमुकाम मन्थलीमा प्रतिक्षालय निर्माण सम्पन्न भएको छ । नव निर्मित प्रतिक्षालयको बिहीबार रामेछापका सांसद श्यामकुमार श्रेष्ठले गरेका छन् । कार्यक्रममा बोल्दै सांसद श्यामकुमार श्रेष्ठले विगतको आन्दोलमा ज्यान गुमानने, वेपत्ता हुने तथा अंगभंग हुनेहरुकै त्यागले देश यो अवस्थामा पुगेको धारणा राखे । उनले भने — “देशको राजनीतिक विचलनलाई छिट्टै निष्कर्षमा पुर्याउनु पर्छ ।”

एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले द्वन्द्वको पीडाबाट पाठ सिक्दै अब मुलुकको समृद्धिमा सबैको ध्यान जानु पर्ने धारणा राखे । एनेकपा माओवादीका केन्द्रीय सदस्य धावा लामाले वेपत्ताका परिवारलाई राज्यले सम्मान गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले विगतको पीडालाई विर्सदै देश निर्माणमा लाग्नु पर्ने धारणा राखे । वेपत्ता परिवारका सदस्यहरुले भने आफ्ना मानिसहरुको अवस्था सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्षालय निर्माणको लागि रामेछापका सांसद श्यामकुमार श्रेष्ठको सांसद कोषको रकम २ लाख, सांसद शिवबहादुर खड्काको सांसद कोषको रकम १ लाख, आइसीआरसीको हातेमालो परियोजनाको रकम १ लाख, मन्थली नगरपालीकाको ५० हजार, वेपत्ता परिवारको रकम ४६ हजार तथा अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगमा कुल ४ लाख ३७ हजार रुपैयाँको लगानिमा सो प्रतिक्षालय निर्माण गरिएको हो । रेडक्रसको अन्तराष्ट्रिय संस्था आइसीआरसीको हातेमालो परियोजना अन्तर्गतको कार्यक्रमको संयोजनमा प्रतिक्षालय निर्माण भएको हो । आइसीआरसीको तथ्याङ्क अनुसार रामेछाप जिल्लाका द्वन्द्वको समयमा वेपत्ता पारिएका १७ जनाको स्मृतिमा सो प्रतिक्षालय निर्माण गरिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!