डडेल्धुराको सदरमुकाममै छाउगोठ

Posted on: 09 Jul, 2019

असार २४, डडेल्धुरा | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ (महीनावारी भएको बेलामा सुत्ने ठाउँ) भेटिएको छ । बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी गोठ भेटिएका हुन् । 

विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने यो टोलमा उनीहरुले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन् । धेरैजसो उपल्लो समुदायका महिलाहरूले महीनावारी भएका बेला घरमा राखे देवीदेउता रिसाएर अनिष्ट हुने भन्दै छोरीबुहारीलाई बस्न अलग्गै छाउपडी गोठ बनाइएको बताएका छन् ।

असुरक्षित रहेका यी छाउगोठमा महीनावारी भएका महिलालाई ५-६ दिनसम्म राख्ने गरिन्छ । नगरपालिका सदरमुकाममा रहेको बजार छेउमै कुरीतिका रूपमा रहेको छाउगोठ भेटिएपछि महिला अधिकारकर्मीले आश्चर्य व्यक्त गरेका छन् । एक्काइसौँ शताब्दीमा पनि सदरमुकाम नजिकैका अधिकांश गाउँमा अझै महिलालाई महीनावरी भएको बेला छाउगोठमा राखेर पशुसरह व्यवहार गरिएको महिला अधिकारकर्मीको गुनासो छ । डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलङ्गा, कीर्तिपुर र पोखरा बजारका क्षेत्रमा महीनावारी भएका बेला बस्ने कोठा अथवा छाउगोठ कायमै रहैको महिला अधिकारकर्मी इन्दिरा ताम्राकारले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!