डोटीमा वातावरणीय प्रभाव मूल्याङ्कनबिना सडक काटिँदै

Posted on: 09 Jul, 2019

 असार २४, डोटी  । जिल्लामा केही समय यतादेखि वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै धमाधम सडक निर्माण भइरहेका छन् । विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकन नगरेरै सडक बनाउने होडबाजी नै चलेको छ । 

वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै जिल्लामा धमाधम सडक निर्माण हुँदा जोखिम बढाएको पूर्वीचौकी गाउँपालिका चैकोटका चक्रबहादुर कठायतले बताउनुभयो । जिल्लाका केआईसिंह,  बोगटान, बडीकेदार, आदर्श, सायल, पूर्वीचौकी, जोरायललगायतका गाउँपालिकामा यो वर्ष शुरु गरेका दर्जनौँ ग्रामीण सडकको वातावरणीय प्रभाव मूल्याङ्कन नगरिएको स्थानीयवासी बताउँछन् । 

चुनावमा गरिएका बाचा पूरा गर्ने नाममा जनप्रतिनिधिले मापदण्डविपरीत जिल्लाभरी वन क्षेत्रमा निर्बाध रुपमा सडक बनाइरहेका केआईसिंहका स्थानीय शेरबहादुर ऐरले बताउनुभयो ।

वरपरका बस्तीलाई नै जोखिम पार्ने गरी सडक निर्माण गरिए पनि जनप्रतिनिधिका अगाडि कसैले पनि केही गर्न नसकेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सुरेशचन्द्र डीसीले बताउनुभयो ।

विस्तृत योजना प्रतिवेदनको नाममा लागत अनुमान, लाभान्वित घरधुरी, कूल खर्च, सडकको चौडाइ र लम्बाइको अध्ययन गरिएको छ । तर वन क्षेत्रमा कुनै पनि विकास निर्माण गर्दा वातावरणीय प्रभाव अध्ययन गर्नुपर्ने प्रावधान रहे पनि उक्त नियमको भने खिल्ली उडाइएको वन कर्मचारीको आरोप छ । 

केआईसिंह गाउँपालिकाका इञ्जिनियर पुष्पकमल उपाध्यायले वातावरणीय प्रभाव मूल्याङ्कनबिना सडक निर्माण गरेको स्वीकार गर्नुभयो । वन क्षेत्रमा जथाभावी सडक निर्माण गर्ने होडबाजी नरोकिए ठूलो जोखिमको सम्भावना रहेको डिभिजन वन कार्यालयका वन अधिकृत शम्भुप्रशाद आचार्यको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!