बाढीबाट जोगिन रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार

Posted on: 12 Jul, 2019

असार २७, लहान । कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि आज उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको आज साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो । दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो ।

प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर आउन सकेको थिएन । मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आउनुभएको थियो । गएराति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढ्नुभएको थियो ।  

छ सय परिवार विस्थापित

वर्षासँगै कमला नदीमा आएको बाढीका कारण सिरहामा ६०० भन्दाबढी परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

बाढीका कारण सिरहा नगरपालिका–६ बसपिट्टा, लहान नगरपालिका–१ र २ मिलनचोकको बस्ती डुबानमा परेको छ । वर्षापछि कमला, बलानलगायत नदीको पानीको सतह बढेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!